राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं, १९ असाेज । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चलनचल्तीका सिक्का डिजाइन, छपाइ (मिन्टिङ) तथा ढुवानीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सूचना जारी गर्दै यसअघि पूर्व–योग्य (प्रि–क्वालिफाइड) भएका अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूबाट शिलबन्दी बोलपत्र माग गरेको हो।

राष्ट्र बैंकले सिक्का उत्पादन तथा आपूर्तिका लागि ‘सिंगल स्टेज, टू इन्भेलप’ विधि अपनाएको छ। यस प्रक्रियाअन्तर्गत सहभागी कम्पनीहरूले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा पेस गर्नुपर्नेछ।

कहिलेसम्म दिनुपर्छ बोलपत्र ?
राष्ट्र बैंकका अनुसार बोलपत्र खरिद गर्ने अन्तिम मिति २०२६ नोभेम्बर ३ सम्म तोकिएको छ। बोलपत्र नोभेम्बर ४ दिउँसो १२ बजेसम्म पेस गर्नुपर्नेछ।

बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिनेछ। इच्छुक कम्पनीहरूका लागि प्रि–बिड बैठक २०२६ अक्टोबर १६ दिउँसो १२ बजे राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा आयोजना हुने जनाइएको छ।

बोलपत्रमा सहभागी हुन रु. २० हजार दस्तुर तोकिएको छ। विदेशी कम्पनीले भने १३१ अमेरिकी डलर वा ११५ युरो बराबरको दस्तुर तिर्न सक्नेछन्।

१ लाख ३२ हजार डलरभन्दा बढीको धरौटी
बोलपत्रमा सहभागी हुने कम्पनीले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा/नेपाली रुपैयाँको बोलपत्र धरौटी पेस गर्नुपर्नेछ।

उक्त धरौटीको म्याद २०२७ अप्रिल ३ सम्म कायम हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ। सार्वजनिक खरिद ऐन, २०६३ अनुसार कालोसूचीमा परेका व्यक्ति वा संस्था तथा तिनका सञ्चालक संलग्न रहेका कम्पनीले बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

राष्ट्र बैंकले बोलपत्रसम्बन्धी विस्तृत सूचना आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *