सभामुखको निर्वाचन आज, कस्काे पाेल्टामा सभामुख ?
काठमाडौं, ५ माघ । आज बिहीबार सभामुखको निर्वाचन हुँदैछ । निर्वाचनका लागि प्रतिनिधिसभाकाे बैठक आज बिहान ११ बजे बस्ने भएकाे छ ।
निर्वाचनमा भाग लिन गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्।
विपक्षी दल कांग्रेसले ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको छ । न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्।
सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्ने हुन्छ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ । सत्ता गठबन्धनका उम्मेदवार देवराजलाई यो सहज हुने देखिन्छ ।
सत्ता गठबन्धनमा रहेका चार दलको मत नै देवराजलाई काफी हुने देखिन्छ । एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा बहुमत हुन्छ ।