सूचना चुहावट आरोपमा निलम्बित एआईजी दाहाल बर्खास्त हुने
काठमाडौं, २३ असोज । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिने भएको छ।
गृह मन्त्रालयका स्रोतका अनुसार सशस्त्रकै अर्का एआईजी अञ्जनीकुमार पोखरेलले गरेको छानबिनपछि दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो। उनलाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य हुने गरी बर्खास्तीको सिफारिस गरिएको छ। सिफारिसबमोजिम गृह मन्त्रालयमा कागजात तयार भइरहेको स्रोतले जनाएको छ। बर्खास्तीको अन्तिम निर्णय भने मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ।
एआईजी दाहाल गत १९ गते निलम्बनमा परेका थिए। उनी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका ज्वाइँ नाता पर्छन्। असोज ११ गते राणा बाँसबारीस्थित आफ्नै घरबाट पक्राउ परेलगत्तै दाहाल उनलाई हिरासतमा भेट्न पुगेका थिए।
दाहालमाथि प्रधानमन्त्री र गृहमन्त्रीहरूको व्यक्तिगत समयको निगरानी गरेको तथा सूचना चुहावट गरेको आरोप लागेको छ। राणाको मोबाइलको प्राविधिक परीक्षणका क्रममा दाहालसँग सम्बन्धित त्यस्ता सूचना फेला परेको सशस्त्र प्रहरीका स्रोतले जनाएको छ।
स्रोतका अनुसार विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउन पूर्वप्रधानन्यायाधीश राणाले चलखेल गरेको र त्यसमा दाहालको पनि भूमिका देखिएको छ।
गत वर्षको जेन–जी आन्दोलनपछि भएको प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको भन्दै सर्वोच्च अदालतमा दायर रिट हालसम्म विचाराधीन छ। उक्त रिटलाई आधार बनाएर सरकार ढाल्नेसम्मका गतिविधिमा राणा सक्रिय रहेको र त्यसमा दाहालले सहयोगी भूमिका निर्वाह गरेको कुरा खुलेको सशस्त्र प्रहरीका स्रोतले जनाएको छ।
