सुर्खेतमा गाडी दुर्घटना, ४ जनाको मृत्यु, एक जना घाइते

काठमाडौं, ८ माघ । सुर्खेतमा आज गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

सुर्खेतकाे छिन्चुबाट आज बिहान साढे २ बजे वीरर्न्द्रनगरतर्फ जाँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नं.को डबल क्याप हाइलक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

दुर्घटनापछि उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए ।

घाइते भएका दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको
प्रहरीले जनाएकाे छ ।

गाडी सडकबाट ७०/८० मिटर तल खसेको छ । गाडीमा पाँच जना सावार थिए ।