सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदै छ कारोबार ?
काठमाडौं,१२ माघ । बजारमा सुनका मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार नौ सय तोकिएको छ । जुन मूल्य हाल सम्मकै उच्च हो ।
अघिल्लो दिन प्रतितोला एक लाख छ हजार दुई सय कायम भएकोमा सुन आज प्रतितोला सात सयले वृद्धि भएसंगै नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार सात सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा १५ ले बढेर प्रतितोला एक हजार तीन सय ८० छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्य बढेकाले यहाँको बजारमा त्यसको प्रभाव परेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको भनाइ छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यका आधारमा दैनिक यहाँ कारोबार मूल्य तोक्दै आएको छ ।