खर्च कटौतीले मात्र अर्थतन्त्र सुधार हुन्न : अर्थमन्त्री पौडेल

काठमाडौं, १९ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खर्च कटौतीले मात्र अर्थतन्त्र सुधार नहुने बताएका छन् ।

बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताएका हुन् ।

उनले खर्च कटौतीसम्बन्धी अर्थ मन्त्रालयले महत्त्वपूर्ण निर्णय गरेको भए पनि अर्थतन्त्रको सुधारको लागि त्यति मात्रैले नपुग्ने बताए ।

खर्च कटौतीको निर्णयलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पौडेलले अर्थतन्त्रमा काम नलाग्ने संरचना र नीतिलाई हटाउनका लागि गृहकार्य आवश्यक भएको स्पष्ट पारे ।

आगामी दिनमा संरचनागत तथा नीतिगत सुधार गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै उनले अहिलेका नयाँ समस्याहरूको चाङलाई बिस्तारै कम गर्दै लैजाने बताए । उहाँले अर्थतन्त्रको सुधारका लागि अझै प्रभावकारी कार्यक्रमहरू गर्ने बताए ।