प्रदेश र स्थानीय तहमा लोकसेवाबाट सेवा प्रवेश गरेका बहालवाला कर्मचारीलाई उमेर हद नलगाउन सर्वोच्च अदालतकाे अन्तरिम आदेश

काठमाडौ, २० माघ । सर्वोच्च अदालतले जुनसुकै तहबाट (सङ्घ, प्रदेश र स्थानीय) लोकसेवा आयोग पास गरी बहाल रहेका कर्मचारीलाई आयोगले खोल्ने विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले शुक्रवार यस्तो आदेश दिएको हो । नेपाल निजामती कर्मचारी सङ्गठनका तर्फबाट अवकाशप्राप्त उपमहासचिव युवाचन्द्र घिमिरेले लोकसेवा आयोगलाई विपक्षी बनाएर दिएको रिट निवेदन दिएका थिए ।

आदेशमा ३५ वर्ष उमेर पूरा भएका कारणबाट परीक्षामा सामेल नगराउने कार्यबाट उनीहरूको वृत्ति विकासमा असर पुग्न सक्ने देखिएको भन्दै अदालतले विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्न भनेको छ ।

अदालतले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु निजामती सेवा सम्बन्धी ऐन वमोजिम उम्मदेवार हुन पाउने व्यवस्था गरेकाले सम्बन्धित तहमा समायोजित कर्मचारीको निजामती सेवासँगको सम्बन्ध निरन्तर रहनेसमेत उल्लेख गरेकाे छ ।