संसदमा ओलीको १२ बुँदे सम्वोधन र दिन खोजेको सन्देश
काठमाडौं, २२ माघ । नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली आइतबारको प्रतिनिधिसभा बैठकमा सम्वोधन गर्दै सार्वभौम मताधिकार प्रयोग गरी आफ्ना प्रतिनिधिको निर्वाचन गर्न पाउने जनाधिकारको रक्षा गर्न हामी सफल भएको बताउनु भएको छ । त्यसैगरी ओलीले जनादेशबाट मात्रै सरकार गठन हुने हाम्रो संविधानको व्यवस्था र आधारभूत लोकतान्त्रिक मान्यतालाई कार्यान्वयनमा ल्याएको पनि बताउनुभयो ।
‘हामी सत्तारूढ राजनीतिक दलहरूले देश र जनताको हितका लागि, संविधानको रक्षा र सफल कार्यान्वयनका लागि समझदारी, सहकार्य र साझा गन्तव्य तय गरेका छौं,’ उहाँले भन्नुभयो, ‘सत्तारूढ दलहरूको परिपक्व निर्णयले राजनीतिक दलहरूप्रति आम जनताको विश्वास र भरोसा अझ मजबुत बनाउन ऊर्जा मिलेको छ, राष्ट्रिय जीवनका सबै क्षेत्रमा उत्साह सञ्चारित भएको छ, जनताको त्याग र बलिदानबाट स्थापित हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली थप सुदृढ भएको छ ।’
ओलीले गर्नुभएका सम्वोधनका १२ बुँदाः
१) सार्वभौम मताधिकार प्रयोग गरी आफ्ना प्रतिनिधिको निर्वाचन गर्न पाउने जनाधिकारको रक्षा गर्न हामी सफल भएका छौं । निर्वाचन यथासक्य टार्ने, सार्ने र तदर्थमा सत्ताभोग गर्ने षड्यन्त्रको श्रृङ्खलालाई अन्त्य गरेका छौं । जनादेशबाट मात्रै सरकार गठन हुने हाम्रो संविधानको व्यवस्था र आधारभूत लोकतान्त्रिक मान्यतालाई कार्यान्वयनमा ल्याएका छौं ।
२) सबै किसिमका घेराबन्दी र अवरोधहरूलाई परास्त गर्दै स्थानीय सरकार केही महिनाअघि नै गठन भइसकेका छन् । अहिले प्रदेश सरकार र नेपाल सरकारसमेत गठन भएको छ । नवगठित सरकारबाट जनअपेक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने अठोटका साथ कार्य आरम्भ भइसकेको छ ।
३) हामी सत्तारूढ राजनीतिक दलहरूले देश र जनताको हितका लागि, संविधानको रक्षा र सफल कार्यान्वयनका लागि समझदारी, सहकार्य र साझा गन्तव्य तय गरेका छौं । सत्तारूढ दलहरूको परिपक्व निर्णयले राजनीतिक दलहरूप्रति आम जनताको विश्वास र भरोसा अझ मजबुत बनाउन ऊर्जा मिलेको छ, राष्ट्रिय जीवनका सबै क्षेत्रमा उत्साह सञ्चारित भएको छ, जनताको त्याग र बलिदानबाट स्थापित हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली थप सुदृढ भएको छ । यस सुखद अवसरमा म सबै जनप्रतिनिधि, स्थानीय सरकार, प्रदेश सरकार र नेपाल सरकारलाई बधाई ।
४) यो सम्मानित सदन नेपाली जनताबाट निर्वाचित जनप्रतिनिधिहरुको सर्वोच्च सभा हो । सरकार गठन गर्ने अधिकार सम्पन्न जनप्रतिनिधिहरुको गरिमामय यो सदन राजनीतिक स्थायित्वको आधारस्तम्भ हो, सम्पूर्ण नेपालीको आस्था, विश्वास, अपेक्षा र भरोसाको केन्द्र हो, देशलाई दिशानिर्देश गर्ने र जनतासमक्ष हामीले गरेका प्रतिज्ञा, सङ्कल्प र प्रतिबद्धता कार्यान्वयनको निर्णायक मञ्च हो ।
५) सम्माननीय सभामुख र माननीय सदस्यज्यूहरुको परिपक्व, विवेकशील, राष्ट्र र जनहित केन्द्रित भावना, दृष्टिकोण र निर्णयबाट हामी सम्पूर्ण नेपालीको शीर उच्च हुनेछ, गौरव बढ्नेछ, ‘समृद्ध नेपाल स् सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सफलता मिल्नेछ ।
६) शक्ति सन्तुलन र नियन्त्रणका कार्यहरु, विधि निर्माणका कार्यहरु, बजेट तर्जुमाका कार्यहरु, वित्तीय उत्तरदायित्व, जवाफदेही र अनुशासन कायम गर्ने कार्यहरु, समग्र राज्य प्रणालीलाई निरन्तर निर्देश र प्रेरित गरिरहने कार्यहरुलगायत सम्पूर्ण कार्य सम्पादनमा यस सम्मानित सभालाई हामी सबैको पूर्ण र रचनात्मक सहयोग रहनेछ । हाम्रो संसदीय इतिहासमा यो सम्मानित सदन नमुना र सफल बन्न सकोस् ।
७) हामीले अस्थिरताको राजनीतिक प्रहार निरन्तर व्यहोर्नु परिरहेको छ । २००७ सालको राजनीतिक परिवर्तनपछिका कुनै पनि सरकारले पाँच वर्षको आफ्नो कार्यकाल पूरा गर्न पाएनन् । २०१५ सालको पहिलो संसदीय निर्वाचनबाट निर्वाचित प्रधानमन्त्रीसमेत दुई वर्ष नपुग्दै अपदस्थ भए–थुनामा राखिए लोकतन्त्रसमेत अपहरित भयो ।
८) राजनीतिक स्थायित्व अपेक्षा गरिएको संविधान जारी भएको ७ वर्षभित्र ७ जना प्रधानमन्त्री फेरिए । हाम्रो चाहना, प्रयास र खोजी स्थिरता र स्थायित्वको रह्यो । तर, हाम्रो प्राप्ति भने सधैं अस्थिरता र अनिश्चितताको हुन पुग्यो ।
९) हाम्रो वर्तमान अनिश्चय, अविश्वास, डर र साँठगाँठले आक्रान्त हुने गरेको छ । देश र जनताको भविष्यलाई आकार दिने राजनीति आफैं दिशाविहीन भविष्यको भैपरि आउने अवसर पर्खेर बसेको छ । हामी, कहिलेसम्म मदारीको जमुरे भएर बस्ने ?
१०) त्यसैले म अपील गर्न चाहन्छु( हामी जनताका प्रतिनिधि राजनीतिक दलका नेताहरु मिलेर दृढ निश्चय र इमानदारीका साथ, आत्मविश्वासका साथ, निडरताका साथ नेपाल र नेपालीको भविष्य निर्माणका लागि सङ्कल्प गरौं, राजनीतिक अस्थिरताको अन्त्य गरी मुलुकलाई राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गराऔं ।
११) राष्ट्रियता र राष्ट्रिय एकताको सवालमा–सार्वभौमसत्ता–अखण्डता–स्वाधीनता–स्वाभीमानको सवालमा, न्यायोचित राष्ट्रिय हितहरुको सवालमा, लोकतन्त्र–स्वतन्त्रता–अवसर–समानता–समावेशी विकास–सुशासन र सामाजिक न्यायसहितको समृद्धिको सवालमा, अभाव–गरिबी–विपन्नताको दुष्चक्रबाट सर्वसाधारण नेपालीलाई बाहिर ल्याउने सवालमा, राष्ट्रिय सामर्थ्य र शक्ति, राष्ट्र र जनहितका लागि सदुपयोग गर्ने सवालमा, अर्थतन्त्रको सवलीकरण गर्ने, विकासको गतिलाई तीब्रता दिने, सेवा प्रवाहमा व्यापक सुधार ल्याउने सवालमा यसका लागि राष्ट्रिय सहमति कायम गरौं । यसका लागि नेकपा एमाले जस्तोसुकै योगदान गर्न तयार छ ।
१२) म स्पष्ट गर्न चाहन्छु, हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेकपा एमालेलाई स्पष्ट बहुमत प्राप्त भएन । हामी जसरी पनि सरकार बनाउने सत्तालिप्सामा कहिल्यै रहेनौं, थिएनौं । यही मानसिकताका साथ हामी प्रतिपक्षमा बस्न तयार भएका थियौं । सरकार गठन गर्न कांग्रेसमा असाधारण रुचि र व्यग्रता देखिन्थ्यो । कांग्रेसको स्वभावअनुसार हामीले यसलाई सामान्य रुपमा लिएका थियौं । तर, प्रतिपक्ष मानसिकताका साथ कांग्रेस गठित सरकारको प्रतीक्षा गरिरहँदा संविधानको व्यवस्थाबमोजिम निर्धारित समय गुज्रिन लाग्यो, असामयिक चर्चाहरू प्रकट हुन थाले ।
यो अनिश्चय बढ्दै गएको अवस्थामा राष्ट्रलाई अस्थिरतातर्फ जानबाट जोगाउन र राजनीतिक निकास दिन नेकपा एमालेले पहल लिनुपर्ने अवस्था आयो । हामीले पहल सुरु गर्यौं । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदसमेतले सहमति गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता माननीय पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भयो ।
(नेकपा (एमाले) का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली ज्युले आज (२०७९ माघ २२ गते) बसेको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको लिखित मन्तव्यको सम्पादित अंश ।