दरबारमार्गमा २३औँ काग सम्मेलन : सयौँ काग एकै ठाउँमा भेला
२३औँ काग सम्मेलन
काठमाडौँ, कात्तिक २१ । तिहारको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको नारायणहिटी दरबारअगाडि आज २३औँ काग सम्मेलन आयोजना गरिएको छ ।
कागको संरक्षण, पर्यावरणीय सन्तुलन कायम राख्न यसले पुर्याउने योगदान तथा नेपाली मौलिक संस्कृतिमा कागको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय सङ्गीतकर्मी सङ्घले सम्मेलन आयोजना गरेको हो ।
सम्मेलनमा कलाकार रमेश दुलालले कागको आवाज निकालेर विभिन्न स्थानमा रहेका सयौँ कागलाई एकै ठाउँमा जम्मा गर्नुभएको थियो । उहाँले आवाज निकाल्न थालेपछि आसपासका रुख तथा आकाशमा उडिरहेका काग सम्मेलन स्थलमा भेला भएका थिए । दुलालले १७३ प्रकारका जीवजन्तु तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने बताइएको छ ।
नेपाली समाजमा कागलाई सन्देशवाहक चराका रूपमा लिने परम्परा छ । हिन्दू धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूत मानिने भएकाले यमपञ्चकको पहिलो दिन यसको पूजा गरी खानेकुरा दिने चलन छ । यस दिन बिहानै घरको छत, आँगन वा खुला स्थानमा भात तथा विभिन्न परिकार राखेर कागलाई खुवाउने गरिन्छ ।
कागलाई खुसी पार्न सके अशुभ समाचार सुन्नु नपर्ने तथा परिवारमा सुख, शान्ति र समृद्धि कायम हुने धार्मिक विश्वास रहिआएको छ ।
