काग तिहार: कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ, २१ कात्तिक । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

यस अवसरमा कागेश्वरीमा गई पूजाआजा तथा दर्शन गरेमा कागबाट सहयोग प्राप्त हुने धार्मिक विश्वास छ। प्रत्येक वर्षको कागे अष्टमी र काग तिहारका अवसरमा यहाँ भक्तजनको घुइँचो हुने गर्छ।

कागेश्वरी मन्दिर परिसरमा २२७ किलोको पित्तललगायत अष्टधातुबाट बनेको कागको मूर्ति धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ। यो नेपालकै ठूलो कागको मूर्ति हो र यसमा पूजा गर्न भक्तजनको भीड लागेको हो। मन्दिरमाथिको सहिद उद्यानमा एक हजार किलो अष्टधातुबाट बनेको कागको मूर्ति पनि छ, जसलाई विश्वकै ठूलो कागको मूर्ति भनिएको छ।

काग तिहारका अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा गर्ने भक्तजनको भीड लागेको छ। यसैगरी पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि पूजाआराधना गर्न भक्तजनको लाम लागेको छ। यी मन्दिरका साथै आज घरघरमा पनि कागलाई मीठा–मीठा खानेकुरा खान दिई सम्मान गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *