सुदृढीकरण अभियानमा अनेमसंघः यस्तो छ १० वर्षपछि हुन लागेको सम्मेलनको तयारी
काठमाडौं, २५ माघ । जहानियाँ राणाशासनको अन्त्य लगत्तै अर्थात् २००८ साल फागुन २४ गते स्थापना भएको अखिल नेपाल महिला संघको २०५५ साल पौष ११–१३ विराटनगरमा सम्पन्न चौथो महाधिवेशनबाट विद्यादेवी भण्डारी अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
२०६२ साल मंसिर २१ देखि २५ गतेसम्म काठमाडौंमा सम्पन्न अनेमसंघको पाँचौ राष्ट्रिय सम्मेलनबाट पनि भण्डारी नै अध्यक्षमा निर्वाचित हुनुभयो । २०६९ साल बैशाखमा पोखरामा अनेमसंघको छैठौं राष्ट्रिय सम्मेलन सम्पन्न भयो ।
उक्त सम्मेलनबाट पनि भण्डारी नै अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँको नेतृत्वमा १२५ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो । एमाले उपाध्यक्ष समेत रहनु भएकी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुँदै दोस्रो कार्यकाल पनि सम्पन्न गरेर अब केही हप्तापछि विदा हुँदैहुनुहन्छ ।
तर, उहाँ निर्वाचित भएपछि अहिलेसम्म अनेमसंघको निर्वाचन हुन सकेको थिएन । उहाँ राष्ट्रपति निर्वाचित भएपछि गोमा देवकोटा कार्यवाहक अध्यक्ष अध्यक्ष बन्नुभयो । त्यसपछि सीता पौडेल अनेमसंघको सातौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी संयोजक बन्नुभयो । तर, त्यतिबेला पनि सम्मेलन हुन सकेन । त्यसपछि फेरि थममाया थापा संयोजक बन्नुभयो । सम्मेलन भएको १० वर्षपछि अर्थात यहि चैत २५ देखि २७ सम्म अनेमसंघले आफ्नो सातौं सम्मेलन काठमाडौंको प्रज्ञाभवनमा गर्ने मिति तय गरेको छ ।
मिति तयसँगै अनेमसंघले ‘समृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताका लागि सुदृढ संगठन’ भन्ने नारासहित सातौं राष्ट्रिय सम्मेलनको तयारी पनि तिव्र पारेको छ । सचिवालयको सातौं बैठक बसी विभिन्न निर्णय गरेको सचिव सुजिता शाक्यले जानकारी दिनुभयो ।
उहाँले दिएको जानकारी अनुसार आयोजक कमिटीको बिस्तारित बैठकबाट सम्मेलनका लागि मस्यौदा दस्तावेजहरु विधान, नीति कार्यक्रम, राजनीतिक र सांगठानिक प्रतिवेदन तथा प्रस्तावहरु र आर्थिक प्रतिवेदन तथा प्रस्तावहरु पारित गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।
अनेम संघले राष्ट्रिय सम्मेलन आयोजक कमिटीको मूल व्यवस्थापन समिति संघका संयोजक थममाया थापाको संयोजकत्वमा गठन गरिसकेको छ । उक्त समितिमा आयोजक कमिटीका सबै सदस्यहरु रहने छन् ।
त्यसैगरी संघले सम्मेलनका लागि १९ वटा उपसमितिहरु गठन गरेको पनि शाक्यले जानकारी दिनुभयो । उपसमितिहरुमा नीति तथा कार्यक्रम मस्यौदा, सामग्री व्यवस्थापन, राजनीतिक र सांगठनिक प्रतिवेदन, निरिक्षण तथा अनगमन, सम्पर्क समन्वय (कार्यालय), सम्मान उपसमिति, जनपरिचालन, प्रतिनिधि छनौट तथा व्यवस्थापन, कला, साहित्य सांस्कृतिक व्यवस्थापन, स्वास्थ्य व्यवस्थापन, खाद्य व्यवस्थापन, आवास व्यवस्थापन स्वयंसेवक व्यवस्थापन समिति रहेका छन् । संघले सम्मेलनको मूल नारा र लोगो समेत बनाइ सकेको छ भने अहिले दैनिक कार्यतालिका र सूचि बनाएर कामहरु भैरहेका छन् ।
त्यसैगरी अनेम संघले सदस्यता वितरण–नविकरण र संकलन अभियानलाई पनि तिव्रता दिने भएको छ । सदस्यता वितरण तथा नविकरणका प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा हिमाली जिल्लामा ५००–१०००, पहाडी जिल्लामा ३००० र तराई मधेश–शहरी क्षेत्रमा ५००० सदस्यता दिने तयारी रहेको छ । अनुशिक्षण–प्रशिक्षण अभियान सञ्चालन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
त्यसका लागि संगठनको परिचय, महत्व तथा सदस्यहरुको काम, कर्तव्य अधिकार र विधान, संगठन पद्दतिको सम्वन्धमा नयाँ सदस्यहरुलाई स्थानीयस्तर वा टोलस्तरमा प्रशिक्षण दिने तयारी पनि अनेमसंघले गरेको छ ।
अनेमसंघले सामाजिक न्यायको कार्यक्रम, श्रम तथा रोजगारको कार्यक्रम, महिला–लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम, संविधान÷कानूनको प्रभावकारी कार्यान्वयनको कार्यक्रम, कृषि, बन, पर्यावरण संरक्षणको कार्यक्रम, महिला स्वास्थ्यको कार्यक्रम, आमूल परिवर्तन हाम्रो आम कार्यक्रम, राष्ट्रिय जीवनका सबै क्षेत्रमा समानताको कार्यक्रम, आर्थिक अधिकार तथा सशक्तिकरणको कार्यक्रमलाई पनि अघि बढाउने तयारी गरेको छ ।
शिक्षा, विज्ञान, प्रविधि, सूचना संचारको कार्यक्रम, सांस्कृतिक रुपान्तरणको कार्यक्रम, पितृसत्तात्मक संरचनाको रुपान्तरण, सचेतना र जागरणको कार्यक्रम, ऐक्यवद्दताको कार्यक्रम जसता अभियान पनि अघि बढाउने भएको छ ।
त्यसैगरी अनेमसंघले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले स्वदेशी उत्पादनहरुको प्रयोग र उपभोगको अभियान चलाउने जस्ता योजना पनि अघि बढाएको छ ।