चिकित्सक संघको निर्णय : आइतबार देशभरका अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द

काठमाडौँ, २८ माघ । नेपाल चिकित्सक संघले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथिको प्रहरीले गरेको अमानविय लाठीचार्जको कारण गम्भीर ध्यानाकर्षण भएको बताएको छ । चिकित्सक संघले आज एक विज्ञप्ति जारी गरी माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंह लगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठ्ठीजार्च गरी घाइते बनाएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

संघले त्यसको विरोधमा माघ २९ गते देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

संघले स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि भीभीआइपीको सुरक्षाका नाममा प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीहरुलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पारी अत्यन्तै दुराअवस्था सिर्जना गरिएकोप्रति घोर आपत्ती जनाएको छ ।

गणतन्त्र नेपालमा यो वा त्यो बहानामा दुःख, सास्ती र अस्वभनीय कार्य सदाका लागि बन्द गर्न समेत संघले सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेको छ ।

लाठिचार्जका क्रममा घाइते भएका डा.सिंह अहिले अस्पतालमा उपचाररत छन् ।
शुक्रबार राष्ट्रपति भण्डारीको सवारीका क्रममा वीर अस्पताल अगाडि प्रहरीले डाक्टर सिंह र अन्य स्वास्थ्यकर्मीमाथि लाठि चार्ज गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *