आन्दोलनरत तीन यातायात मजदुर संगठनसँग आज बिहान ८ बजे वार्ता

काठमाडौं, २ फागुन । सरकारले आन्दोलनरत तीन यातायात मजदुर संगठनलाई आज वार्तामा बोलाएको छ।
आन्दोलनरत यातायात मजदुरहरूकाे माग सम्बाेधनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बिहान ८ बजे तीन यातायात मजदुर संगठनलाई वार्तामा बोलाएको हाे ।
सोमबार बालाजु बसपार्क क्षेत्रमा ट्राफिक जरिवानाको विषयलाई लिएर तीन संगठनका आन्दाेलनरत् यातायात मजदुरहरूले बालाजु क्षेत्र रणमैदान बनाएका थिए ।
ट्राफिक कार्यालयले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरले आगजनी तथा तोडफोड गरेका हुन्।
तीन मजदुर संगठनका आन्दोलनकारीहरूले उग्ररूप लिएपछि बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा सडक अवरुद्ध गर्नुका साथै प्रहरीका दुईवटा भ्यानमा आगजनी गरेर माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका थिए ।