आगजनी र तोडफोडको जिम्मा ल्होत्सेले लिनुपर्छ : यातायात मजदुर संगठन

काठमाडौं, २ फागुन । सरकारसँग वार्तामा सहभागी तीन यातायात मजदुर संगठनले सोमबार भएको घटनाको सबै जिम्मेवारी ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका छन् ।
मंगलबार बिहान उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँगको वार्ताका क्रममा मजदुर संगठनका पदाधिकारीले ल्होत्सेलाई कारबाही गर्नुपर्ने माग गरेका हुन् ।
आन्दोलनपछि कोणसभाका लागि गएका मजदुरहरुलाई ल्होत्सेकै कर्मचारीहरुले भड्काएपछि आगजनी र तोडफोडको घटना भएको उनीहरुको आरोप छ ।
ल्होत्से भवनमा लुटपाट गर्ने पनि यातायात मजदुर नभई ल्होत्सेबाटै परिचालित व्यक्तिहरु रहेको व्यवसायीको जिकिर छ ।
ल्होत्से बहुउद्देश्यीय प्रालि गोंगबुस्थित नयाँ बसपार्क निर्माण, सञ्चालन र व्यवस्थापनमा संलग्न कम्पनी हो । प्रालिले बसपार्क सञ्चालन तथा व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासँग ४५ वर्षको सम्झौता गरेको छ ।
व्यवसायीले सोमबारको घटनाबारे निष्पक्ष छानबिन गरी कारबाहीको माग समेत गरेका छन् । सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो ।