६२ आंगिक र १ हजार ४० सामुदायिक–निजी क्याम्पसमा हुने स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं, ५ फागुन । शैक्षिक क्यालेन्डरमा २–२ वर्ष अर्थात् फागुन १४ मा स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । तर, त्यो तालिका ०६५ चैत यता नियममित हुन सकेको छैन । ०६५ सालसम्म त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन हुँदै आएको थियो त्यसपछि झण्डै ८ वर्षपछि अर्थात ०७३ चैतमा २६ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन भयो । २–२ वर्षमा हुनुपर्ने निर्वाचन त्यसपछि हुन सकिरहेको छैन ।
यो पटक भने त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आगामी चैत ५ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले पत्रकार सम्मेलनमार्फत कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका नै सार्वजनिक भएपछि लामो समय नभएको निर्वाचन यो पटक हुने आशा पलाएको छ ।
निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको कार्यतालिका अनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
फागुन १९ गते विद्यार्थी सङ्घ–सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।
निर्देशक अधिकारीका अनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।
स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
केन्द्रीय क्याम्पससहित ६२ आंगिक, १ हजार ४० सामुदायिक र निजी क्याम्पसहरु सबैमा सकेसम्म निर्वाचन गर्ने तयारीमा हामी जुटेका छौँ,’अधिकारीले भन्नुभयो, ‘२८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणाली अनुसार नै निर्वाचन गर्ने तयारी छ ।’
दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा पदाधिकारीसहित ११ जना, दुई सयभन्दा बढी एक हजारसम्म विद्यार्थी संख्या भएमा १५, एक हजारभन्दा बढी तीन हजारसम्म विद्यार्थी भएमा १९ र तीन हजारभन्दा बढी विद्यार्थी भएका क्याम्पसमा २१ जनाको स्ववियु कार्यसमिति हुने व्यवस्था छ ।