‘मिसन ग्रासरुट’ अभियान शुभारम्भसँगै एमाले मुख्यालयमा अखिलको सपथ (भिडियो रिपोर्ट)

काठमाडौं, ५ फागुन । नेकपा (एमाले) को मुख्यालयमा आज अरु बेला भन्दा बेग्लै खालको चहलपहल देखिएको थियो । एकातिर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी सुदृढीकरण तथा विस्तार अभियानका लागि ‘मिसन ग्रासरुट’ अभियानको शुभारम्भ एमाले मुख्यालयबाटै गर्ने भएकाले चहलपहल बढेको थियो भने अर्कातिर आजको झुल्केघाँमसँगै निर्वाचित अनेरास्ववियुको नयाँ नेतृत्वलाई सपथ पनि अध्यक्ष ओलीले नै गराउने भएकाले थप चहलपहल बढेको थियो ।

अध्यक्ष ओलीले मध्यान्ह १२ः१५ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलबाट सात प्रदेश र गैरभूगोलका विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट सम्बोधन गर्दैगर्दा त्यहाँ नजिकैको तुलसीलाल अमात्य प्रतिस्ठानको भवनमा पनि कार्यक्रम सञ्चालन भैरहेको थियो । अध्यक्ष ओलीले देशभर पार्टी सुदृढीकरण अभियान शुभारम्भ गर्दै भर्चुअलमाध्यमबाट एक घण्टा सम्वोधन गर्दा एमाले मुख्यालयमा सपथका लागि भन्दै एमाले मुख्यालयमा आउने अखिलको नयाँ नेतृत्वले थप चहलपहल बढाएको थियो ।

२०७२ फागुनमा काठमाडौँमा सम्पन्न २२ औँ महाधिवेनबाट अध्यक्षमा नविना लामा निर्वाचित भएपछि एमाले निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुको निर्वाचन हुन सकेको थिएन ।

दुई–दुई वर्षमा हुनुपर्ने अनेरास्ववियुको महाधिवेशन २२ औँ महाधिवेशनपछि २३ औँ महाधिवेशन हुन करीब ८ वर्ष कुर्नुपर्यो । काठमाडौंको प्रज्ञाभवनमा सम्पन्न अखिलको २३ औं महाधिवेशनले आठ वर्षपछि निर्वाचित नयाँ नेतृत्व पाएको थियो । नयाँ नेतृत्वसँगै अखिलमा एक प्रकारको उत्साह छाएको थियो । त्यो उमंग एमाले मुख्यालयमा पनि झल्किन्थ्यो ।

सपथ ग्रहण अघि अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेता तुलसीलाल अमात्यको शालिक अघि कुर्सीमा बस्नु भएको थियो भने नवनिर्वाचित महासचिव नरेश रोकाय र कोषाध्यक्ष संगम अर्यालले सबै केन्द्रीय कमिटीका सदस्यहरुलाई सपथको व्यहोरोसहितको कागज थमाउनु भयो । निकै भिडभाडका विच अध्यक्ष ओलीले सबैलाई सपथ खुवाउनु भयो भयो । सपथपछि जरुरी बैठक छ भन्दै निस्किन लाग्नु भएका अध्यक्ष ओलीलाई अखिलका नवनिर्वाचित अध्यक्ष बडालले केही सम्वोधन गर्न आग्रह गरेपछि ओलीले फेरि त्यहि कुर्सीमा बसेर सम्वोधन गर्नुभयो ।

सम्वोधनका क्रममा उहाँले लामो समयदेखि नभएको सम्मेलन गरेर अनेरास्ववियुले नयाँ सन्देश दिएको भन्दै धन्यवाद दिनुभयो । उहाँले नवनिर्वाचित नेतृत्वलाई मैले छानेको प्रतिनिधि अल्छी हुँदैन भन्ने सन्देश दिने गरी काम गर्न पनि आग्रह गर्नुभयो ।

सम्वोधनपछि सामूहिक तस्बिर खिच्न गरेको आग्रहलाई ओलीले मुसुक्क मुस्कुराउँदै सहमति मात्रै जनाउनु भएन । आजैबाट सुरु भएको ‘मिसन ग्रासरुट’ अभियानको झल्को दिनेगरी उहाँ कार्यकर्तासँगै जमिनमा बसेर सकारात्मक सन्देश दिनुभयो ।

अध्यक्ष ओलीपछि सम्वोधन गर्नुभएका महासचिव पोखरेलले ‘मिसन ग्रासरुट’ अभियानमा अब अखिलको नयाँ नेतृत्व जोडिनु पर्नेमा जोड दिनुभयो । उहाँल सक्रियताले भूमिका निर्धारण गर्ने भन्दै अखिललाई परिचित हुन मुस्किल नहुनेमा जोड दिनुभयो । लामो समयसम्म निर्वाचन नहुँदा नेतृत्व विकासमा अवरोध भएको भन्दै महाधिवेशनसँगै त्यो अवरोध हटेको उहाँले बताउनुभयो ।

सबै मानिस इतिहासमा सम्झिन योग्य नहुने भन्दै अखिलका सबै नेतृत्वलाई सबैले सम्झिने कार्य गर्न सुझाव दिनुभयो । पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि सबै प्रतिनिधिको करीब ३८ प्रतिशतले निर्वाचनका सिलसिलामा विभिन्न पदमा उम्मेदवारी दिएका थिए । एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव र १० सचिव र एक कोषाध्यक्षका लागि भएको निर्वाचनमा समिक बडाल अध्यक्ष निर्वाचित हुनुभएको थियो भने उपाध्यक्षमा गोविन्द्र गिरी, मर्यादा विष्ट, धर्म गिरी र नारायण घर्ती विजयी हुनुभएको थियो ।

महासचिवमा नरेश रोकाया विजयी हुनुभएको थियो भने सचिवमा प्रकाश पौडेल, सञ्जिव धिताल, सुजन कडरिया, दिपेश प्रसाईँ, अञ्जना सिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले र दीपक धामी विजयी हुनुभएको थियो । कोषाध्यक्षमा संगम अर्याल विजयी हुनुभएको छ । महाधिवेशनमा १५ सय ८८ प्रतिनिधि मध्ये १५ सय १७ मत खसेको थियो ।

वि.सं. २०२२ साल जेठमा विष्णुमती नदी किनाराको सानो बस्तीमा काठमाडौंकै शान्ति निकुञ्ज माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुजन खरेल (आत्माराम खरेल) को संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरी विधिवत् रुपमा स्थापना भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो स्थापनाको ५७ वर्ष पूरा गर्दैछ । गौरवपूर्ण इतिहास बोकेको अनेरास्ववियुले त्यो इतिहासदेखि अहिलेसम्म २३ वटा सम्मेलन, अधिवेशन, महाधिवेशन सम्पन्न गरेको छ । अहिले २३ औँ अधिवेशनबाट बडाल २६ औँ अध्यक्ष बन्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *