अवैध लागूऔषध १० किलो ५ सय ग्राम गाँजासहित २ जना पक्राउ

सिरहा, ८ फागुन । सिरहाकाे मिर्चैया नगरपालिका-६ कटारी चोकबाट अवैध लागूऔषध १० किलो ५ सय ग्राम गाँजासहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका-९ डुमरी घर भई मिर्चैया नगरपालिका-६ बस्ने ४६ वर्षीय कुशेश्वर यादव र धनगढीमाई नगरपालिका-१४ सरेअम्वास बस्ने ३६ वर्षीय गौरब शाही रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले अन टेष्ट लेखिएको मोटरसाइक जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार कुशेश्वर र गौरबलाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा गाँजा ओसारपसारमा संलग्न गोलबजार नगरपालिका-१ मुक्सार टोल घर धनगढी नगरपालिका-१४ सरेअम्बास टोल बस्ने २४ वर्षीय काले भन्ने भुपेन्द्र बहादुर ठकुरीलाई समेत मिर्चैया नगरपालिका-९ घुर्मी पुलबाट बागमती प्रदेश ०२-०२६ प०१९७ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।