बन्चरो प्रहारबाट दैलेखमा आमा र दुई छोराछोरीको हत्या, एक बालक गम्भीर घाइते

दैलेख, ५ मङ्सिर । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन् । घटनामा अर्का एक छोरा गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले शुक्रबार बिहान दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्मालाई उपचारका लागि दुल्लुस्थित नगर अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले तपेन्द्र र करिस्मालाई बिहान ११ः१० बजे मृत घोषणा गरेका थिए । थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकी मनिसाको दिउँसो २ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते मिलनको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घटनालगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय टोली घटनास्थल पुगेको थियो ।

घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *