धरानमा ४९९ किलो गाँजासहित भारतीय स्कार्पियो नियन्त्रण
सुनसरी, ६ मङ्सिर । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार राति करिब ११ः३० बजे संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको हो।
भारतीय बीआर ११ वाई ३०३९ नम्बरको स्कार्पियो जाँच गर्दा ४९९ किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले स्कार्पियो र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजयकुमार साह रहेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
तस्बिर – नेपाल प्रहरी वेवसाइटबाट
