प्रज्ञामा लालीगुराँस बाटिकाको १७ औं बार्षिक उत्सव

काठमाडौँ, १० फागुन । एक हजार बढी विद्यार्थी अध्ययनरत लालिगुँरास बाटिका माध्यामिक विद्यालयले आफ्नो विद्यालयको १७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भब्य कार्यक्रमसहित मनाएको छ
कोटेश्वरको नरेफाँटमा अवस्थित उक्त विद्यालयले सो अवसरमा विविध साँस्कृतिक कार्यक्रमसहित पुरस्कार वितरणको समेत आयोजना गरेको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवं प्रज्ञा नेपाली बृहद् शब्दकोशका सम्पादक डाक्टर बासुदेव त्रिपाठीको प्रमुख आतिथ्यतामा काठमाडौँकै प्रज्ञाभवनमा आयोजना गरेको सो कार्यक्रममा खास जति वा समूदायका व्यक्तिले लगाउने परम्परागत पहिरनमा सजिएका विद्यार्थीहरुको नृत्यले कार्यक्रम रोचक बनेको थियो ।
कार्यक्रममा सोही विद्यालयका विद्यार्थीहरुे शेर्पा नृत्य, तामाङ सेलो, हुड्केली नृत्य, धिमाल नृत्य, मारुनी, नेवारी नृत्य, आधुनिक र झ्याउरे भाकाका गीत गाएका थिए ।
कार्यक्रममा शिक्षाप्रद नाटक ‘अभागी’ पनि प्रदर्शन गरिएको थियो । कक्षा १ देखि १२ सम्मका विद्यार्थीले विभिन्न प्रस्तुति देखाएका थिए भने इन्द्रेणीका प्रमुख कृष्ण कँडेलले कार्यक्रममा गीत गाउनु भएको थियो भने हाँस्य कलाकार सुबोध गौतमलगायतले पनि प्रस्तुति देखाउनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय परीक्षामा विज्ञान संकायबाट उत्कृष्ट छात्रा सरला चापागाईं, २०७७ मा व्यवस्थापनबाट उत्कृष्ट नवीन भट्टराई, विज्ञान संकायका सुदिप बुढाथोकी र २०७८मा व्यवस्थापनमा उत्कृष्ट रमिता पराजुलीसँगै एसइइ– २०७८ मा उत्कृष्ट सुमारिका उप्रेतीलाई सम्मान गरिएको थियो भने कार्यक्रममा उत्कृष्ट शिक्षकहरुको तर्फबाट आशिष खनाल र कर्मचारीहरुको तर्फबाट रिता पन्तलाई पनि सम्मान गरिएको थियो ।
विद्यालयका प्राचार्य हरि शिवाकोटी विद्यार्थीलाई पुस्तकको मात्रै बोझ बोकाउने भन्दा पनि व्यवहारिक र नैतिक शिक्षा समेत दिने उद्धेश्यले यस्ता कार्यक्रम गर्दै आएको बताउनु हुन्छ ।
विद्यालयका निर्देशक सुर्दशन पराजुली आफ्नो विद्यालयका भाइबहिनीहरुको प्रतिभा प्रस्फुटनका लागि यस्तो कार्यक्रम सहयोगी बन्ने बताउनु हुन्छ ।
‘कितावी ज्ञान भन्दा बाहिरका कुरामा पनि मेरो छोराछोरी उत्कृष्ट छने भन्ने सन्देश अभिभावकहरुलाई दिलाउनका लागि पनि यस्ता कार्यक्रमको आयोजना गरेका हौँ,’ पराजुलीले भन्नुभयो, ‘साना–साना भाइबहिनीहरुले यो विशाल हलमा हजारौँ मानिसका अघिल्तिर उभिँएर आत्मविश्वासका साथ प्रतिभा प्रस्फुटन गराउँदा हामी मात्रै पुलकित हुँदैनौँ । अभिभावकहरु पनि खुशीले गदगद् हुनुहुन्छ ।’
उहाँले आफ्नो विद्यालयले विद्यार्थीहरुलाई यस बाहेक पनि अन्य रचनात्मक, सिर्जनात्मक काममा अभ्यस्त गराउने गरेको जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा, रास्ट्रीय परिक्षा बोर्ड काठमाडौका प्रमुख जयन्ती सत्याल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष टी आर ढकालसहित अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।