कांग्रेसले राष्ट्रपति हाम्रो हुँदा सजिलो हुन्छ भन्यो, हामीले हाम्रो हुँदा सहमतिमा सहज हुन्छ भन्यौँः बेदुराम भुसाल

राष्ट्रपतिको निर्वाचनको विषय पेचिलो बन्दै गएका बेला नेताहरुको दौडधुप पनि बढिरहेको छ । आज साँझ मात्रै पनि नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका नेताबिच काँग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्वाराहीमा भेटघाट भएको छ । दुई दलबीच आज भएको वार्तामा राष्ट्रपति निर्वाचनलाई लिएर ठोस सहमति हुन सकेन । दुवै दलले राष्ट्रपति निर्वाचनमा आ–आफ्ना उम्मेदवारलाई सघाउन आग्रह गरेको भेटमा सहभागी नेकपा एसका महासचिव बेदुराम भुसालले जानकारी दिनुभयो । महासचिव भुसालसँग यहि विषयमा केन्द्रित भएर गरेको कुराकानीः
राष्ट्रपतिको विषयलाई लिएर आज कांग्रेस सभापति शेरबहादुर देउवासँग आज तपाईँहरुको पार्टी अध्यक्षसहितले भेट गर्नुभयो । भेटघाट कस्तो रहयो ?
सभापति मात्रै होइन भेटघाटमा कांग्रेसका पाँच जना नेता सहभागी हुनुहुन्थ्यो । हाम्रो तर्फबाट पनि अध्यक्षसहित चार जना सहभागी थियौँ । कुराकानी अहिलेको राष्ट्रिय राजनीतिक र राष्ट्रपतिको निर्वाचन सम्बन्धि विषयमा भयो ।
राष्ट्रपतिको निर्वाचनमा तपाईँहरुको पार्टीबाट पनि दाबी भन्ने चर्चा छ । के यो विषयमा पनि त्यहाँ छलफल भयो ?
राष्ट्रपतिको विषयमा छलफल भयो भनेपछि त्यो विषय स्वाभाविक रुपमा आउने नै भयो । हामीले एक्लै राष्ट्रपतिमा उम्मेदवार अघि बढाउने भनेका होइनौँ र त्यो निर्णय पनि गरेका होइनौँ । हामीले राष्ट्रपतिको निर्वाचनका लागि सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरेका हौँ । यहि विषयमा केन्द्रित भएर हामीले कांग्रेससँग छलफल गरेका हौँ । कांग्रेसँगको छलफलमा हामीले संविधान र लोकतन्त्रको रक्षाका विषयमा पनि केन्द्रित भएर छलफल गरेका हौँ । हामीले छलफलमा राष्ट्रपतिको मात्रै विषयमा छलफल हुन सक्दैन । संविधान र लोकतन्त्रको विषयमा तपाईँहरुको कुरा के–हो भनेर भन्यौँ । उहाँहरुले हामी यी सबै विषयमा सकारात्मक छौँ । यी विषयमै केन्द्रित भएर छलफल गरौँ भन्नुभयो ।
राष्ट्रपतिको सन्दर्भमा छलफल गरेर साझा उम्मेदवार अघि बढाऔँ भन्ने भयो । त्यो भन्दा बढी छलफल आज भएन । साझा उम्मेदवार अघि बढाउन फेरि छलफललाई निरन्तरता दिने भन्ने विषयमा छलफल भयो ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार तपाईँहरुको पार्टी अध्यक्षलाई अघि सार्ने प्रस्ताव गर्नुभयो भन्ने चर्चा छ । यो विषयमा पार्टी भित्र केही छलफल भएको छ ?
हाम्रो पार्टी अध्यक्ष र एमाले पार्टी अध्यक्षबिचको भेटघाटमा अध्यक्ष ओलीले हामी विभाजित भएर कमजोर भयौँ, मिलेर जाऔँ भन्ने प्रस्ताव राखेको भन्ने जानकारी प्राप्त भएको छ । उहाँले राख्नु भएको ठोस प्रस्ताव यहि हो । बैठकमा हाम्रो अध्यक्षले पनि यहि कुरा राख्नुभयो ।
अहिले संविधान र लोकतन्त्रका विरुद्धमा जुन खालका गतिविधि सुरु भएका छन् त्यो विषयमा हामी एकजुट भएर अघि बढ्नुपर्छ भन्ने नै हो । पूर्वराजा ज्ञानेन्द्रले आफूलाई श्री ५ बडामहाराजधिराज ज्ञानेन्द्र विरविक्रम शाह भनेर वक्तव्य जारी गरिसके । संविधानले उनलाई सामान्य नागरिक बनाइसकेको छ ।
उनी संविधान र लोकतन्त्र विरुद्धको आन्दोलनमा खुलेआम कुरा गर्दैछन् । उनले त्यो अभियानको उद्घाटन नै गरिसके । पार्टीहरु विरुद्ध उनी तथानाम बोल्दै हिँडेका छन् । हामीले आजको सचिवालय बैठकमा पनि यो विषय गम्भीर विषय हो भनेर छलफल गरेका छौँ । यी र यस्ता विषयमा पनि हामी सबै गम्भीर भएर एकजुट भएर अघि बढ्नुपर्छ भन्ने हो ।
भनेपछि सम्बन्धित सबै पक्ष सँग छलफल गर्ने निर्णय अनुसार नै तपाईँहरुले कांग्रेससँग पनि छलफल गर्नुभएको हो ?
राष्ट्रपतिको विषयमा सम्बन्धित सबै पक्षसँग छलफल गर्ने भनेका छौँ । राष्ट्रपतिको विषयमा छलफल गर्ने भनेको राष्ट्रपतिको चुनावमा मतदाता भएका दलसँग कुराकानी गर्ने हो । कांग्रेससँग त्यसै अन्तरगत कुराकानी गरेको हो । राष्ट्रपतिको सन्दर्भमा उहाँहरुले स्वाभाविक रुपमा कांग्रेसको हुँदा सजिलो हुन्छ भन्नुभयो । हामीले हाम्रो भयो भने सहमति बनाउन अझ सहज हुन्छ भन्यौँ । आजको छलफलमा ठ्याक्कै के गर्ने भन्ने विषयमा ठोस निर्णय भएन छलफल जारी राख्ने भन्ने भयो ।