पेरिस ओलम्पिक २०२४ : महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने

काठमाडौं, १४ फागुन । पेरिस ओलम्पिक २०२४ अन्तर्गत हुने महिला फुटबलको एसिया छनोट खेल नेपालमा हुने भएको छ ।
पहिलो चरण अन्तर्गत समूह ‘सी’ को एसिया छनोट खेलहरु नेपालमा आयोजना हुने भएको हाे ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एसिया क्षेत्रको छनोट अन्तर्गत समूह ‘सी’ को छनोट नेपालमा हुने जनाएकाे छ ।
समूह ‘सी’ मा नेपालसँगै भियतनाम, प्यालेस्टाइन र अफगानिस्तान थिए । तर प्यालेस्टाइनले भने नाम फिर्ता लिएकोले यस समूहमा तीन टिम मात्र रहेको एन्फाले जनाएको छ । अब नेपालले भियतनाम र अफगानिस्तानसँग मात्र खेल्नुपर्खेछ ।
छनोटको पहिलो चरणका खेलहरु आगामी अप्रिल ३ देखि ११ (चैत २०-२८) सम्म हुनेछ । पहिलो चरणको छनोटमा २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोली दोस्रो चरणमा पुग्नेछन् ।
उत्तर कोरिया, अष्ट्रेलिया, चीन, जापान र दक्षिण कोरिया भने सिधै दोस्रो चरणमा खेल्नेछन् । यी पाँच टिम र पहिलो चरणका ७ गरी १२ टिमलाई दोस्रो चरणमा तीन समूहमा विभाजन गरिनेछ । जसका तीन समूहको विजेता र एवम् उत्कृष्ट उपविजेता तेस्रो चरणमा पुग्नेछन् ।
त्यसबाट शीर्ष दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ । नेपालले ओलम्पिक तयारी अन्तर्गत भारतसँग चेन्नाईमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दुवै खेल बराबरीमा सकिएको थियो ।