चितवनमा ‘अफ्रिकन स्वाइन फिवर’ : १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरे

चितवन, १५ फागुन । ‘अफ्रिकन स्वाइन फिवर’का कारण चितवनका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् ।
भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर –३ मा तीन , रत्ननगरमा चार , इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा रहेका बङ्गुरमा फिवर फैलिएपछि पूर्णरुपमा खोर खाली भएको हो ।
यस रोगका कारण जिल्लामा दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । ती मध्ये वयस्क एक हजार नौ सय १६ वटा र नौ सय ५७ पाठापाठी रहेको उहाँले जानकारी दिनुभयो ।
अफ्रिकन स्वाइन फिवरका कारण रू छ करोड २२ लाख ६५ हजार बराबरको क्षति भएको कार्यालयले जनाएको छ । यो रोग गत साउन महिनाबाट जिल्लामा देखिएको हो ।
अफ्रिकन स्वाइन फिवर घरपालुवा सुँगुर, बँदेल, बङ्गुर प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक विसं २०७९ जेठ २ गते पुष्टि भएको थियो ।