राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

धार्मिक तथा सांस्कृतिक सम्पदा

काठमाडौँ,  कात्तिक ११ ।  नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार प्रसार, धार्मिक पर्यटन प्रवर्द्धन, राष्ट्रिय एकता सुदृढीकरण र सनातन वैदिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु भएको छ ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले गत आइतबार पवित्र मुक्तिनाथधामबाट रथयात्राको शुभारम्भ गर्नुभएको हो । उहाँको सत्सङ्कल्पमा नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको आयोजनामा सुरु भएको रथयात्रा बागलुङस्थित पञ्चकोट हुँदै अघि बढिरहेको छ ।

रथयात्रा मेचीदेखि महाकालीसम्मका विभिन्न धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका पौराणिक तीर्थस्थलहरूको परिक्रमा गर्दै आगामी मङ्सिर १ गतेसम्म सञ्चालन हुनेछ । यात्रामार्फत नेपालको गौरवशाली धार्मिक सम्पदाको प्रचारप्रसार गर्नुका साथै विभिन्न क्षेत्रका धार्मिक तथा सांस्कृतिक स्थलबीचको सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको छ ।

स्वामी कमलनयनाचार्यले रथयात्रा धार्मिक अनुष्ठानमा मात्र सीमित नरही राष्ट्रिय एकताको भावना जागृत गर्ने, सामाजिक सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने तथा सनातन संस्कृतिका मौलिक मूल्य र मान्यताको संरक्षण गर्ने अभियान भएको बताउनुभयो । उहाँका अनुसार नेपालको धार्मिक सम्पदालाई नयाँ पुस्तामाझ परिचित गराउनु पनि रथयात्राको महत्वपूर्ण उद्देश्य हो ।

रथयात्राले आन्तरिक पर्यटन, तीर्थाटन तथा स्थानीय आर्थिक गतिविधिलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ। देशका विभिन्न स्थानमा रहेका ऐतिहासिक तीर्थस्थलबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तार गर्दै स्थानीयस्तरमा पर्यटनका अवसर सिर्जना गर्न यस अभियानले योगदान पुर्‍याउने आयोजकको विश्वास छ।

राष्ट्रव्यापी रथयात्राको समापन मङ्सिर १ गते नवलपुरस्थित श्रीगजेन्द्रमोक्षधाम, त्रिवेणीधाममा हुनेछ। सोही दिनदेखि वैदिक विश्वविद्यालय स्थापनाको उद्देश्यसहित अष्टाचल धनधान्याचल श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ पनि सुरु गरिनेछ । आयोजकका अनुसार उक्त महायज्ञ मङ्सिर महिनाभर सञ्चालन हुनेछ ।

रथयात्राका क्रममा भगवान् श्रीमुक्तिनाथको पवित्र जल तथा प्रसाद वितरण गर्ने कार्यक्रमसमेत रहेको छ । स्वामी कमलनयनाचार्यले रथयात्रा पुग्ने विभिन्न स्थानका श्रद्धालु भक्तजन, धर्मानुरागी तथा सनातन संस्कृतिप्रेमीलाई भगवान्को दर्शन गर्न, पवित्र जल तथा प्रसाद ग्रहण गर्न र धार्मिक अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *