एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
काठमाडौँ, ११ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बेलुका ५ बजे सुरु हुनेछ। आज प्रतियोगितामा एकमात्र खेल हुने तालिका छ।
पोखरा एभेन्जर्सले आजको खेलसँगै प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दैछ भने सुदूरपश्चिम रोयल्स दोस्रो खेलमा मैदान उत्रनेछ।
प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। त्यसैले आजको खेलमा सुदूरपश्चिम पहिलो जितको खोजीमा हुनेछ भने पोखरा सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदान उत्रनेछ।
