रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकियो, रक्तदान गर्न रेडक्रसको आग्रह
काठमाडौँ, ११ कात्तिक । रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले स्वयंसेवी रक्तदाता तथा सर्वसाधारणलाई रक्तदान गर्न विशेष आग्रह गरेको छ।
बडादसैँको बिदापछि रक्तदान कार्यक्रम घटेको तर अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएपछि रगत व्यवस्थापनमा कठिनाइ भएको रेडक्रसले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार केन्द्रमा सबै रक्तसमूहको होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पिआरबीसी) र प्लेटलेट्स रिच प्लाज्मा (पिआरपी) को मौज्दात सकिएको छ।
उहाँले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गर्नुभएको छ।
चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा बिदा हुँदा रक्तदान कार्यक्रम कम भएकाले रगतको सहज व्यवस्थापनमा समस्या आएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले बताउनुभयो। उहाँले स्वयंसेवी रक्तदाता तथा विभिन्न सङ्घसंस्थालाई रक्तदान कार्यक्रम सञ्चालन गर्न आह्वान गर्नुभएको छ।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गरिरहेको महामन्त्री ऋषि खनालले जानकारी दिनुभयो।
त्यसैगरी, मोबाइलको प्लेस्टोरबाट ‘NRCS BTS’ एप डाउनलोड गरेर पनि रक्तसञ्चार सेवासम्बन्धी जानकारी लिन सकिने रेडक्रसले जनाएको छ।
