बाढी पहिरोले म्याग्दीका सरकारी कार्यालयको सेवा प्रवाह प्रभावित

असोज दोस्रो साताको बाढीपहिरो

काठमाडौँ, ११ कात्तिक। गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीका सरकारी कार्यालयका भवन, महत्त्वपूर्ण कागजात, अभिलेख तथा उपकरणमा क्षति पुर्‍याएपछि नियमित सेवा प्रवाह प्रभावित भएको छ। कार्यालयका भुइँतलामा रहेका कोठा माटो र गेग्रानले पुरिनुका साथै कम्प्युटर, फर्निचर, प्रिन्टर र अन्य उपकरण नष्ट हुँदा कर्मचारीलाई नियमित कामकाज सञ्चालन गर्न कठिन भएको हो ।

बेनी नगरपालिका ७ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र बेनी नगरपालिकाको भवनमा असोज ११ गते बिहान बराहपाखोबाट आएको बाढी पसेर क्षति पुर्‍याएको थियो। बाढीले कार्यालयका भुइँतलामा रहेका कोठा पुरिएपछि सेवा प्रवाहमा समस्या उत्पन्न भएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नयाँ भवनबाट सेवा सञ्चालन सुरु गरे पनि आवश्यक कागजात, अभिलेख, औजार र उपकरणको अभावमा काम गर्न कठिन भइरहेको छ। पशु विकास अधिकृत गोपाल गिरीका अनुसार बाढीले पुराना दुई भवनका भुइँतलामा रहेका सातवटा कोठाका सामग्री तथा कागजात नष्ट गरेको छ।

पशु अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि बेनी नगरपालिका–७ मङ्गलाघाटमा रु ४७ लाख खर्चेर सातकोठे एकतले भवन निर्माण गरेको थियो। पुरानो कार्यालय भवन बाढीले पुरिएपछि सोही भवनबाट सेवा सञ्चालन गरिएको हो। कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारीसाधनसमेत बाढीले पुरिएका थिए।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र डिभिजन वन कार्यालय परिसरमा थुप्रिएको माटो तथा गेग्रान हटाउने काम अझै पूरा भएको छैन। माटो पन्छाउन समय लाग्दा क्षतिग्रस्त भौतिक संरचना पूर्ण रूपमा सञ्चालनमा ल्याउन समस्या भइरहेको छ। बाढीले बेनी नगरपालिकाको भवनमा पनि क्षति पुर्‍याएपछि भुइँतलामा रहेका कृषि तथा पशु सेवा शाखाले माटो हटाएर सेवा सञ्चालन गरिरहेका छन्।

डिभिजन वन कार्यालयको भुइँतलामा रहेको योजना शाखाका तीनवटा कोठामा बाढीले क्षति पुर्‍याएको छ भने सवारीसाधन राख्ने ग्यारेजसमेत भत्किएको छ। कार्यालयका क्षतिग्रस्त शाखा तथा कार्यकक्षलाई नजिकै रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एकाइ भवनमा सारेर काम सुरु गरिएको डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले बताउनुभयो।

उहाँका अनुसार अस्थायी रूपमा कार्यकक्ष बनाएर काम सुरु गरिए पनि फर्निचर, कम्प्युटर, प्रिन्टर, अभिलेख र कागजात नष्ट भएकाले नियमित कामकाजमा कठिनाइ भइरहेको छ। क्षतिग्रस्त भवन मर्मत गर्न आवश्यक बजेटको अभावसमेत चुनौतीका रूपमा देखिएको उहाँले बताउनुभयो ।

बाढीले सरकारी कार्यालयका भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै महत्त्वपूर्ण अभिलेख नष्ट गरेपछि सेवा प्रवाहलाई सहज बनाउन थप चुनौती देखिएको छ। अस्थायी कार्यकक्षबाट सेवा सञ्चालन गरिए पनि आवश्यक उपकरण र कागजातको अभाव तथा क्षतिग्रस्त संरचनाको मर्मत हुन नसक्दा म्याग्दीका प्रभावित सरकारी कार्यालयको सेवा प्रवाहमा बाढीको असर कायमै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *