प्रदेशको नाम टुंगो लगाउन प्रदेश एकको बैठक सुरु, कोसी प्रदेश बहुमतले पारित हुने संभावना

विराटनगर, १७, फागुन । नेकपा (एमाले) ले प्रदेश १ को नाम कोसी राख्ने प्रस्ताव संसद सचिवालयमा आज दर्ता गरेपछि अहिले प्रदेशसभा बैठक सुरु भएको छ । प्रदेश १ को नाम कोसी प्रदेश राख्ने प्रस्तावको प्रस्तावकमा एमाले सांसद रामबहादुर राना र समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी र एमालेका निरन राई रहनु भएको थियो ।
तर, समर्थकमा रहनु भएका कांग्रेस सांसद भूमिप्रसाद राजवंशीले समर्थन फिर्ता लिनुभएको छ । यद्यपि, पूर्व सहमति अनुसार कांग्रेसले कोसी प्रदेशमै मत हाल्ने संभावना रहेको छ ।
बुधबार दिउँसो प्रदेश सरकारले बैठकमा आजै नामाकरण टुंग्याउने गरी प्रस्ताव दर्ता गरिएको हो । संसद सचिवालयका अनुसार आजै प्रदेशको नाम टुंगो लगाउने संभावना बढी छ ।
एकीकृत, जसपालगायतका साना दलले पहिचानका आधारमा नामकरण हुनुपर्ने भन्दै असहमति जनाए पनि प्रमुख तीन दलका नेता कोसी नामकरणमा सहमतिमा पुगेका छन्। यो सहमतिसँगै प्रदेशको नाम कोसीलाई बहुमतले पारित हुने संभावना छ ।
पहिलो कार्यकालमा थाँती रहेको प्रदेशको नामकरणमा गोप्य छलफल गरेर प्रदेश सभामा दर्ता गराउने र आजै सर्वसम्मतले पारित गराउन दलहरू सहमत भएका थिए। प्रदेशको नामकरण सहमतिमा टुंगो लगाउन मंगलबार दिनभर सरकार, संसदीय दल र पार्टीका केन्द्रीय नेताहरूको सर्वदलीय छलफल भएको थियो।
यता नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीले प्रदेश नम्बर १ को नाम किराँत–लिम्बुवान–सगरमाथा राख्न प्रस्ताव पेस गरेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र राईले प्रस्ताव गरेको उक्त नाममा जसपाकी सांसद निर्मला लिम्बू र नेकपा एसमा कमलप्रसाल जगेबुले समर्थन गर्नु भएको छ ।