कोसी प्रदेशको प्रस्तावमा ८२, विपक्षमा ४ मत

विराटनगर, १७ फागुन । नेकपा (एमाले) ले प्रदेश १ को नाम कोसी राख्ने प्रस्ताव संसद सचिवालयमा आज दर्ता गरेको नामलाई प्रदेशसभाको दुई तिहाइभन्दा बढी मतले पारित गरेको छ। प्रदेशको नाम कोसी राख्नका लागि नेकपा (एमाले) का सांसद रामबहादुर मगरले प्रस्ताव पेस गर्नुभएको थियो । उक्त नाममा एमाले सांसदद्वय विदुर लिंथेप र निरन राईले समर्थन गर्नुभएको थियो ।
प्रदेशसभामा भएको मतदातामा दुई तिहाइभन्दा बढी मतबाट कोसी प्रदेशको प्रस्ताव पारित भएको सभामुख बाबुराम गौतमले घोषणा गर्नुभएको छ । कोसी प्रदेशको प्रस्तावमा ८२ मत र विपक्षमा ४ मत खसेको छ । मतदानमा ८६ जना सांसद सहभागी थिए। कोसी प्रदेशको पक्षमा नेकपा एमालेसहित नेपाली कांग्रेस, नेकपा माओवादी र राप्रपाका सांसदले मतदान गरेका थिए।
यसअघि नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको किराँत–लिम्बूवान–सगरमाथा प्रदेश स्वतः अस्वीकृत भएको थियो । कोसी प्रदेश बुहमतले पारित भएसँगै सभामुखले अन्य प्रस्ताव खारेज भएको घोषणा गर्नुभएको थियो । मतदानमा ढिला गरी आइपुगेकाले जसपाकी सांसद निर्मला लिम्बू र राप्रपाकी सांसद सविना बजगाई मतदानमा सहभागी हुन पाउनु भएन । प्रदेशसभामा अन्य ४ जना सांसद अनुपस्थित थिए ।