एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना डाइभर्सन टनेलको ब्रेक थ्रु

दमौली, २८ फागुन । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ)को ‘ब्रेक थु्र’ भएको छ ।

आयोजनाले छ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो । उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ ।

आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा उक्त टनेल खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको सतहमा टनेल निर्माण गरिएको छ ।

आयोजनाले गत माघमा प्रवेश सुरुङको ब्रेक थ्रु गरेको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने चार सय ३६ मिटर लम्बाइ र सात मिटर व्यास भएको प्रवेश सुरुङको ब्रेक थ्र भएको थियो ।

आयोजनाको पहिलो प्याकेजअन्तर्गत एक सय ४० मिटर अग्लो बाँधलगायतका संरचना सोङ दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ ।जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् ।

पाँच सय ३९.८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थु्र भइसकेको छ । आयोजनाको सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो चीनले गरिरहेको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणकार्य केइसी भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ साल असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

तीनवटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले हालसम्म रु १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार खर्च गरेको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत हेडवक्र्स निर्माणकार्यका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो ।

यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ–१ र २ को निर्माणकार्य जारी रहेको आयोजनाले जनाएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनाको एक हजार चार सय ५६.९ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न सुरु गरिएकामा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर खन्ने काम सकिएको छ । आयोजनाको दुई सय १०.९ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न सुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ ।

हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यअन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने कार्य सकिएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ ।

छब्बीस वटा टावर जडानकार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । ३४.७ किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।