निजी निवासमा सरेपछि मात्रै सार्वजनिक भेटघाटको मनस्थितिमा निवर्तमान राष्ट्रपति

काठमाडौं, ३० फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सात वर्ष चार महिना अर्थात २ हजार ६ सय ९५ दिनको हाराहारीको शीतल निवास बसाइलाई बिट मार्दै करीब–करीब सामान्य जीवनशैलीमा फर्किनु भएको छ । सोमबार शीतल निवासमा नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको सपथ ग्रहण कार्यक्रममा सहभागी भएसँगै शीतल निवास छाड्नु भएकी भण्डारी अब करीब एक महिना जति जेठी छोरी उषाकिरणको बालुवाटारस्थित निवासमा रहनु हुनेछ ।

बूढानीलकण्ठस्थित निजी निवास निर्माणको काम सकिन करीब एक महिना लाग्ने भएकाले उहाँ त्यो अवधिभर छोरी उषाकै घरमा बस्ने उहाँ निकट स्रोतले जानकारी दिएको छ । ‘उहाँले दुई कार्यकाल राष्ट्रपतिको हैसियतमा शीतल निवासमा सात वर्ष चार महिना विताउनुभयो,’ निकट स्रोतले भन्यो, ‘हिजबाट मात्रै शीतल निवासबाट विदा भएपछि उहाँ अहिले जेठी छोरी उषाको घरमा बस्नुभएको छ । केही दिन उहाँले लामो समयसम्मको राजकीय जिम्मेवारीबाट विदा भएपछि आराम गर्ने तयारी गर्नुभएको छ ।’
लामो समयसम्म एउटा घेराबन्दी जस्तो अवस्थामा रहनु भएकी निवर्तमान राष्ट्रपति भण्डारीले केही दिन ‘फ्रेस’ हुन राजनीतिक र अन्य सार्वजनिक भेटघाटसमेत नगर्ने मुड बनाएको उहाँ निकट स्रोतले जानकारी दिएको छ । ‘उहाँ लामो समयको जिम्मेवारीबाट बाहिरिएपछि केही दिन आराम गर्ने मुडमा हुनुहन्छ,’ स्रोतले भन्यो, ‘पहिलो कुरा त उहाँ अहिले छोरीको घरमा हुनुहुन्छ । यहाँ एरिया सानो छ । भेटघाट गर्ने, भिडभाड गर्ने सहज अवस्था पनि छैन । बूढानीलकण्ठस्थित निजी निवास सरेपछि उहाँले भेटघाट गर्नेलगायतका तयारी गर्नुहुन्छ होला ।’

त्यसो त राजनीतिक भेटघाटलगायतमा पनि उहाँले केही दिन नगर्ने बताउनु भएको छ । ‘भेट्नै पर्ने अवस्था बाहेक उहाँले केही दिन सकेसम्म भेटघाट नगर्ने मनस्थिति बनाउनु भएको छ । हामीले पनि उहाँको मनस्थितिलाई ध्यानमा राखेर भेटघाटको तालिका बनाएका छैनौँ,’ निकट स्रोतले भन्यो, ‘केहीकेही नेताहरु पातलो गरी आउने भेटघाट गर्ने जाने त गर्नुभएको छ ।’