सप्तरीमा ट्रक र विङगर एकआपसमा ठोक्किंदा १४ जना घाइते

सप्तरी, २ चैत । सप्तरीमा ट्रक र विङगर एकआपसमा ठोक्किंदा १४ जना घाइते भएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहन स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना४ख २६०८ नम्बरको ट्रक र विपरीत दिशातर्फ आउँदै गरेको बा.०१-०२८ च २२१५ नम्बरको विङगर एक आपसमा ठोक्किएकाे प्रहरीले जनाएकाे छ ।
घाइते हुनेहरुमा विङगर चालक सिराहाको लहान नगरपालिका-२४ मनहरबाका ३५ वर्षीय दिलीपकुमार राम, २३ वर्षीय राकेशप्रसाद साह, साहकी श्रीमती ३० वर्षीया पिंकीकुमारी साह, छोरा वर्ष ५ का युमान साह, २० वर्षीया शीतलकुमारी साह छन् ।
यस्तै लहान-१ का ४५ वर्षीय गणेश साह, उनका छोरा ६ वर्षीय अवास साह, स्थानीय ५५ वर्षीया रमेशकुमार साह, उनकी श्रीमती ५० वर्षीया मुनिदेवि साह, पर्साको वीरगञ्ज महानगरपालिका-३ बस्ने ४० वर्षीय राकेशकुमार गुप्ता, उनकी श्रीमती वर्ष ३५ की अभादेवि गुप्ता, भारत बिहार सितागढी ग्राम पंचायत घर भएका वर्ष २० का रोशन साह, लहान-८ सुखिपुरकी २१ वर्षीया आरतीकुमारी साह र राकेश साहको छोरा वर्ष ८ का आरभ कुमार साह छन् ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको सप्तरी प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ट्रक, ट्रक चालक र विङगर इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा राखिएको छ ।