जुम्लाकाे तिला गाउँपालिकाले गरे बालविवाहमुक्त अभियान

जुम्ला, १ चैत्र । जुम्लाको तिला गाउँपालिकाले बालविवाहमुक्त अभियान सुरु गरेको छ । सो गाउँपालिकाको वडा नं ६ बाट उक्त अभियान थालनी गरेको हो ।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले पालिकामा रहेका नौ वडामध्ये वडा नं ६ लाई सबैभन्दा पहिले बालविवाह तथा बालमैत्री वडा घोषणा गर्ने तयारी भएको जनाए । यस वडामा घोडे, रिपी र सुडी गाउँ पर्छन् ।

समग्र गाउँपालिकालाई नै बालविवाहमुक्त तथा बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यअनुसार अभियान सञ्चालन भइरहेको जनाउँदै पहिलो पटक वडा नं ६ लाई घोषणा गरिने र आगामी हप्ताभित्र सो घोषणा गरिने उनले बताए ।

बालबिवाहमुक्त अभियानका लागि बालविवाह तथा बालमैत्री स्थानीय शासन निर्देशिकाले तोकेका न्यूनतम् सूचकको अवस्थाका बारेमा पालिकाभित्र अनुगमन गरिएको छ । किर्डाक जुम्ला र पालिकाको संयुक्त साझेदारीमा यो अभियान सञ्चालन भइरहेको बताइएको छ ।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिकाले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेकाले पालिकाको वडा नं ६ लाई बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको उपाध्यक्ष गोरीकला बुढाले बताए ।

निर्देशिका बमोजिम ५१ सूचकको अवस्थाबारे यहाँका स्थानीयवासी, आमा समुह, बालक्लब, युवाक्लब, राजनीतिक दल र सरोकारवाला व्यक्तिसँग अन्तरक्रिया गरिएको छ । तोकिएका सूचकमध्ये ८० प्रतिशत बढी अङ्क हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ ।

बालविवाहमुक्त वडा निर्माणका लागि वडाले तोकिएका सूचक र मापदण्ड पूरा गर्दै बालबालिकाको अधिकारलाई स्थानीय नीति, नियम, कार्यक्रम र बजेटमा समावेश गरेको वडाध्यक्ष जङ्गबहादुर रोकायाले बताए । हिउँदे गाउँसभाबाट सो वडालाई बालविवाहमुक्त तथा बालमैत्री वडा घोषणा गर्नका लागि रू तीन लाख बजेट विनियोजित गरिएको जनाए ।

बालविवाहमुक्त अभियान, बाल संरक्षण, बाल विकास र बाल सहभागिताको क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालन गरिएको किर्डाक जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले जानकारी दिए ।