श्री कुमारीको राष्ट्रभक्ति र प्रेमकथामा आधारित न्यतमरु अजिमाको नाच
काठमाडौं, ८ चैत । काठमाडौंमा धुमधामपूर्वक मनाइने पाहाँ चःह्रे पर्वका अवसरमा लकुमाद्यः, अजिमाहरूको खट जात्रा, घोडेजात्रातिर त सबैको ध्यान गएको हुन्छ, तर यही बेला काठमाडौंको न्यत–त्यंघल टोलमा नचाइने एक ऐतिहासिक देवी नाचतिर भने कमैको ध्यान गएको देखिन्छ ।
पाहाँ चःह्रे अर्थात घोडेजात्राको एक दिन अघि न्यत टोलको डबलीमा यो नाच नचाइन्छ । यो मूलतः न्यतमरु अजिमा अर्थात नरदेवीको नाच हो । न्यतमरु अजिमाको मन्दिर सोही डबलीको सामुन्न रहेको छ ।
पाहाँ चःह्रेको बेलुकीदेखि यो नाच शुरु हुन्छ । र, रातभरि नचाइन्छ । त्यसपछि भोलिपल्ट पनि नचाइन्छ ।
अस्ति रातभरि र हिजो दिनभरि नाच प्रदर्शन गरी समापन भइसकेको छ । आज सोही न्यतमरु अजिमाको मूर्तिलाई खटमा राखी जात्रा गरिँदैछ ।
डबलीमा नचाइने यो नाचमा महादेव, गणेश, ब्रम्हायणी, इन्द्रायणी, नारायणी, रुद्रायणी र महालक्ष्मीको नाच हुन्छ । त्यस्तै बाराही, भैरव, कुमारी, सिंघिनी र ब्याघ्रिनीको नाच पनि यसमा हुन्छ ।
पात्रहरू धेरै भए पनि मुख्य पात्र न्यतमरु अजिमा अर्थात नरदेवी भएकोले यो नाचको नामै ‘न्यतमरु अजिमा प्याखं’ हुन गएको हो ।

यो नाचमा नाच्ने पात्रहरू सबैजना स्थानीय महर्जन समुदायका हुन्छन् । महादेव भई नाच्ने पात्र एक जना भने स्थानीय तुलाधर समुदायको हुने गर्दछ । न्यतमरु अजिमाको मूल पुजारी पनि तुलाधर हुन् भने यो नाचमा बजाइने बाजाहरू मध्ये ‘ताः’ नामक बाद्यवादन बजाउने पनि तुलाधर नै हुन्छन् ।
कुनै बेला यो नाच तुलाधर समुदायले नै नचाउने भए पनि पछि स्थानीय महर्जन समुदायमा जिम्मेवारी सर्दै गएको विश्वास गरिन्छ ।
न्यतमरु अजिमाको नाच हरेक वर्ष पाहाँ चःह्रेका दिन निकालिन्छ भने यही नाच बाह्र वर्षमा एक पटक निकाल्ने पनि गरिन्छ । यो वर्ष न्यतमरु अजिमाको बाह्र वर्षे नाच पनि जारी रहेको छ ।
यो वर्ष न्यतमरु अजिमाको वार्षिक नाच वर्षाले गर्दा केही प्रभावित भए पनि नाच हेर्न राति पनि स्थानीय मानिसहरू जम्मा भएका थिए । नाचका पात्रहरूलाई मानिसहरू श्रद्धापूर्वक भेटी चढाई ढोग्ने पनि गर्छन् ।

न्यतमरु अजिमाको नाच मूलतः कुमारी, अजिमा र दैत्यको कथामा आधारित नाच हो । यसमा आफ्नै मुलुकको शत्रु रहेका एक दैत्यको प्रेममा फँसेका कुमारीलाई उनकी आमा अजिमाले दैत्यसँग प्रेम सम्बन्ध नराख्न सम्झाउने गर्छिन् । साथै मुलुकको स्वतन्त्रता रक्षाका लागि प्रेमी दैत्यको वध (हत्या) गर्न पनि अनुरोध गर्छिन् ।
कुमारीले आफ्नो मुलुकको स्वतन्त्रता रक्षाका खातिर दैत्यलाई छल गरी वध गर्छिन् । साथै आफ्नो प्रेमको सम्मान गर्न आजीवन अविवाहित नै रहने प्रतिज्ञा पनि गर्छिन् । मुलुकको लागि श्री कुमारीले गरेको यही बलिदानको कथा नै न्यतमरु अजिमा नाचको सार हो ।
