एमालेले छाेड्याे बागमती सरकार, मुख्यमन्त्रीलाई विश्वासको मत नदिने
हेटौंडा, १० चैत्र । नेकपा एमालेले बागमती प्रदेश सरकार छाडेका छन् । हेटौंडामा जारी प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गरेका हुन्।
केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाले बताए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्दा एमालेको सहयोग लिएको तर पछि समीकरण फेरेकोप्रति उनले खोलो तर्यो लौरो बिर्सियो जस्तो गरेको टिप्पणी गरे। थपलियाले करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको दाबी गरे ।
माओवादी अध्यक्ष प्रचण्डले खोला तरेको तर लौरो बनेर साथ दिएको एमालेलाई बिर्सेर राजनीतिक बेइमानी गरेको थपलियाले बताए । प्रधानमन्त्रीले देशी विदेशीको प्रभावमा परेर सत्ता समीकरण भत्काएको भन्दै उनले त्यसको विरुद्धमा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।
पुस २५ गते एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले शुक्रबार दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।