कीर्तिपुरमा रातो मत्स्येन्द्रनाथको मूर्तिः जात्रा नजिक आउँदै, विवाद फेरि चर्कँदै
काठमाडौं, १० चैत । गत साताको बुधवार । कीर्तिपुरस्थित गःछेँ टोलका एक हुल महिलाहरू बुंगमतीस्थित बुंगद्यः (श्री रातो मत्स्येन्द्रनाथ) को मन्दिरमा भेला भए । उनीहरू त्यहाँ एउटा विशेष पूजाका लागि भेला भएका थिए । पूजाको उद्देश्य थियो– कीर्तिपुरमा स्थापना गरिएको श्री रातो मत्स्येन्द्रनाथको मूर्तिसम्बन्धी विवादका बारेमा स्वयम् मत्स्येन्द्रनाथकै सामुन्ने याचना गर्नु ।
रातो मत्स्येन्द्रनाथलाई चामल, फूल, अक्षता, रोटी, धूप आदि जस्ता पूजा सामग्रीहरू चढाइसकेपछि महिला समूहका नाइके एवं कीर्तिपुरस्थित सुखी गःछेँ समाजका अध्यक्ष रामकुमारी महर्जन सेतो कागजमा कम्प्युटरले टाइप गरिएको एउटा पाना लिएर मत्स्येन्द्रनाथको मूर्ति सामु उभिनुभयो । कागजको त्यो पाना रातो मत्स्येन्द्रनाथका नाममा लेखिएको बिन्तीपत्र रहेछ ।
उहाँले मत्स्येन्द्रनाथ सामू उभिएर उक्त बिन्तीपत्र पढेर सुनाउनुभयो । खस नेपाली भाषामा लेखिएको उक्त बिन्तीपत्रमा उल्लेख गरिएको छ –
‘हे प्रभू करुणामय ! कीर्तिपुरमा हामीले श्री करुणामयको मूर्ति स्थापना गर्दा करुणामयका पाँजुहरूसँग सरसल्लाह गरेर नै काम अघि बढाएका थियौँ । उहाँहरूसँग भएको विभिन्न छलफल पछि मात्रै हामीले श्री करुणामयको मूर्ति स्थापना गरेका हौँ । तर अहिले पाँजुहरूबाट आफूसँग सल्लाह गरेको छैन, त्यसै मूर्ति राख्यो भन्ने नाना कुराहरू आइरहेका छन् । यसमा या त हामीले झुठ बोलेको भयो, या त पाँजुज्यूहरूले झुठ बोल्नुभएको भयो । जसले झुठ बोलेको हो उनीहरूलाई दण्ड दिनुहोला, सत्य बोल्नेलाई प्रोत्साहन गर्नुहोला । हामी प्रभूसँग क्षमा र शक्ति दुवै माग्न आएका हौँ ।’
श्री करुणामयलाई यति बिन्ती गरिसकेपछि करुणामय मन्दिरमा पुजारी बस्नुभएका पाँजु माणिक वज्राचार्यसँग उहाँको वहस शुरु भयो ।
पाँजु वज्राचार्यले भन्नुभयो, ‘कीर्तिपुरमा मूर्ति राख्नु अघि तपाइँहरूले आवश्यक सल्लाह नै गर्नुभएन । त्यही भएर अहिले यो विवाद आएको हो ।’
उत्तरमा रामकुमारी महर्जनले भन्नुभयो, ‘होइन, हामीले सल्लाह गरेका थियौँ । पाँजु संघले हामीलाई कपिल गुर्जु (विज्ञ कपिल वज्राचार्य) सँग सल्लाह गर्नुस् भनियो । हामीले कपिल गुर्जुसँग सल्लाह गर्यौँ । उहाँले सत्यमोहन जोशीसँग सल्लाह गरेर जवाफ दिन्छु भन्नुभयो । केही दिन पछि उहाँले भन्नुभयो कि सत्यमोहन जोशीले रातो मत्स्येन्द्रनाथको मूर्ति कीर्तिपुरमा भए राख्न मिल्छ, अरु ठाउँमा मिल्दैन भन्नुभएको छ । त्यसैले राख्दा मिल्छ । त्यही भएर हामीले मूर्ति बनाउने काम अघि बढाएका हौँ ।’
पाँजु माणिक वज्राचार्यले भन्नुभयो, ‘हामीले तपाइँहरूलाई मूर्ति राख्न होइन, मन्दिर बनाउन मात्रै स्वीकृति दिएका थियौँ ।’
रामकुमारीले भन्नुभयो, ‘होइन, मूर्ति पनि राख्ने कुरा भएको छ । अब आइसक्नुभएको करुणामयलाई हामी कुनै पनि हालतमा फिर्ता नगर्ने भयौँ । यो हाम्रो पेटबोली नै भयो ।’
माणिकले भन्नुभयो, ‘जबसम्म कीर्तिपुरमा करुणामयको मूर्ति रहन्छ, तबसम्म त्यहाँ फूल राख्न नआउने निर्णय हामीले गरिसकेका छौँ ।’
रामकुमारीले भन्नुभयो, ‘फूल यहाँहरूले राख्न आउने हो, हामीले ग्रहण गर्ने हो । यदि ग्रहण गर्ने नै कोही भएन भने फूल राख्न आएर मात्र संस्कृति पूरा हुन्न । संस्कृति पूरा गर्न दुवै पक्षको साथ चाहिन्छ । हामीले यो कुरा भुल्नु हुँदैन ।’
यसरी दुई पक्षको वार्ता टुंगियो । तर कुनै निर्णय भएन ।
अब रातो मत्स्येन्द्रनाथको जात्रा पनि शुरु हुँदैछ । जात्राका लागि रथ बनाउने तयारी शुरु भइसकेको छ । आउँदो चैत्र २२ गते रातो मत्स्येन्द्रनाथको न्हवं (महास्नान) हुँदैछ । त्यसपछि जात्रा अघि बढ्छ ।
कीर्तिपुरको गःछेँस्थित प्यंगःथां भन्ने स्थानमा गत मंसिर महिनामा रातो मत्स्येन्द्रनाथको मूर्ति स्थापना गरेपछि कीर्तिपुर र बुंगमती बीच यो विवाद शुरु भएको हो ।
बुंगमतीका पाँजु (रातो मत्स्येन्द्रनाथका पुजारी) हरूको संघले उक्त मूर्ति राख्नुहुन्न, त्यो निकाल्नुपर्छ भनेको छ । कीर्तिपुरमा मूर्ति राख्न पहल गर्ने सुखी गःछेँ समाजले भने राखिसकेको मूर्ति नझिक्ने भनेर जवाफ फर्काइसकेको छ ।
यदि मूर्ति नझिके वर्षेनी कीर्तिपुरमा गई मत्स्येन्द्रनाथको फूल र अक्षता चढाउने संस्कार आफूहरूले नगर्ने चेतावनी पाँजुहरूले दिइसकेका छन् ।
प्रत्युत्तरमा गःछेँ समाजले पनि यदि मूर्ति फिर्ता लाने काम भयो भने पाँजुहरूले चढाउन ल्याएको फूल र अक्षता ग्रहण गर्ने चेतावनी दिएका छन् ।
विवाद चर्किने सम्भावना देखेपछि पुरातत्व विभागले उक्त मूर्ति फिर्ता ल्याउने निर्देशन काठमाडौं महानगरपालिकालाई दिएको छ । काठमाडौं महानगरपालिकाले उक्त मूर्ति बनाउन १७ लाख रुपैयाँ अनुदान दिएको थियो ।
यसका लागि काठमाडौं महानगरका मेयर बालेन साहलाई उहाँका सल्लाहकार कुमार बेनका बुबा एवं ललितपुर महानगरपालिकाका पूर्व वडा अध्यक्ष नरसिंह व्यंजनकारले अनुरोध गर्नुभएको थियो ।
अहिले मूर्ति विवादमा परेपछि मेयर साह लगायत कुमार बेन र नरसिंह व्यंजनकार समेत यसमा तानिनुभएको छ ।
ललितपुरको गुठी संस्थानले अब रातो मत्स्येन्द्रनाथको जात्रा शुरु हुनु अगावै यो विवाद टुंग्याउनुपर्ने बताएको छ । यदि विवाद टुंगिएन भने कीर्तिपुरमा स्थापना गरिएको रातो मत्स्येन्द्रनाथको मूर्ति फिर्ता लाने निष्कर्षमा गुठी संस्थान पुगेको छ ।