एसईई परिक्षाकाे सम्पूर्ण तयारी पूरा, ५ लाख १६ हजार ५ सय ७७ विद्यार्थी परिक्षामा सहभागी हुँदै

काठमाडाैं, १६ चैत्र । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरू हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसवर्षको एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

बोर्डले यसवर्ष हुने परीक्षाको लागि सम्पूर्ण तयारी पूरा भइसकेकाे जनाएको छ। परीक्षा चैत १७ गते शुक्रबारदेखि चैत २९ गतेसम्म चल्नेछ।

परीक्षाका लागि बोर्डले प्रश्नपत्रहरू केन्द्रसम्म पुर्‍याइसकेकाे जनाएकाे छ । यसवर्षकाे एसईई परीक्षाका लागि २ हजार ३७ वटा परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ।

परीक्षाका लागि जापानबाट पनि परीक्षार्थीहरू सहभागी हुँदैछन्।

रोजगारीका क्रममा जापानमा रहेका नेपालीका छोराछोरीले त्यहीँबाट परीक्षा दिने व्यवस्था मिलाइएको छ। यसपालि १४ जना परीक्षार्थीले जापानबाट परीक्षा दिने भएका छन्।