आजदेखि एसइई, चार लाख ८४ हजार २२७ परीक्षार्थी सहभागी हुने
काठमाडौं, १७ चैत्र । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परिक्षा आजबाट सुरु हुँदैछ ।
परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुनेछ । परीक्षा चैत २९ गतेसम्म चल्नेछ ।
यसवर्ष एसइई परीक्षाका लागि नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी हुँदै छन् ।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख छ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी हुँदैछन्।
प्राविधिक धारतर्फ करिब १५ हजार विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका दुई हजार नौ सय ८२ विद्यार्थी र ५० जना दृष्टिविहीन पनि परीक्षामा सहभागी हुँदैछन्।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले विद्यार्थीलाई कुनै डरत्रास नलिई ढुक्क भएर परीक्षा दिन आग्रह गरेका छन्।
यस वर्ष सात हजार दुई सय सामुदायिक र चार हजार पाँच सय ६४ संस्थागत गरी ११ हजार आठ सय २९ विद्यालय एसइईमा सहभागी हुँदैछन्।
यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।
परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ परीक्षा केन्द्र र जापानमा एक गरी कूल दुई हजार ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।
एसइईमा अघिल्लो वर्ष देशभरबाट पाँच लाख १८ हजार १८५ विद्यार्थीले आवेदन दिएपनि परीक्षामा भने चार लाख ९५ हजार ६४८ जना परीक्षामा सहभागी भएका थिए।