थ्री नेसन कपको उपाधि नेपाललाई
काठमाडाैं, १७ चैत्र । लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै थ्री नेसन कपको उपाधि नेपालले हातपारेकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको आजकाे फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ ।
त्यस्तै उपाविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गरयो । खेलमा पहिलो अग्रता लाओसले लिएपनि अन्तिममा जित नेपालकाे भएकाे हाे ।
खेलको १७औं मिनेटमा लाओसका खेलाडी फोउचाङभोङले गोल गरे । तर खेलको २४औं मिनेटमा नेपालका खेलाडी आयुष घलानले एक गोल फर्काउँदै खेललाई एक/एक गोेलको बराबरीमा ल्याए ।
आयुषले एरिक विष्टले दिएको पासलाई सदुपयोग गर्दै गोल गरे। पहिलो हाफसम्म एक/एक गोलको बराबरीमा सकिएको खेलमा नेपालले खेलको दोस्रो हाफमा एक गोल थप्दै च्याम्पियन बन्न सफल भयो ।
खेलको ८७औं मिनेटमा नेपालका मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को जित दिलाए । उनले अन्जन विष्टले उपलब्ध गराएको पासमा उत्कृष्ट गोल गरेका हुन् ।
खेलमा नेपालका मनिष डाँगी प्लेयर अफ द म्याच चुनिए । उनले दुई सय ५० अमेरिकी डलर पाए । त्यसैगरी प्रतियोगितामा आयुष घलान सर्वोत्कृष्ट खेलाडी घोषित भए । उपाधिसहित उनले पाँच सय अमेरिकी डलर प्राप्त गरे ।
चैत्र ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल लाओस र भुटानको सहभागिता रहेको थियो ।
