बुद्धकाे मूर्ति चोरी घटना

चापागाँउबाट चोरी भएको आठौँ शताब्दीको बुद्धकाे मूर्ति खोज्न दबाब दिँदै चापागाँउ सडक बन्द

ललितपुर, १९ चैत्र । ललितपुरको चापागाँउबाट चोरी भएको आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धकाे मूर्ति खोज्न प्रशासनले बेवास्ता गरेको भन्दै स्थानीयले दबाबस्वरुप सडक अवरुछ गरेका छन् ।

स्थानीयले प्रशासन, जनप्रतिनिधिमाथि खबरदारी गर्दै बिहान २ घण्टा सडक अवरुद्ध गरेका हुन् । चापागाँउ पुरानो बसपार्कसँगै मोती पुस्तकालय आडमा रहेको चैत्यबाट आठौँ शताब्दीको ऐतिहासिक पुरातात्विक बुद्धको तीन वटा मूर्ति फागुन १७ गते बुधबार र फागुन २९ गते आइतबार रातको समयमा चोरी भएको थियो । चैत्यमा विसं ८२७ मा ती मूर्ति स्थापना गरिएको शिलालेखमा उल्लेख छ ।

सडक अवरुद्ध गर्दै स्थानीय प्रशासन र जनप्रतिनिधिको भूमिकाको विरोधमा खबरदारी गरिरहेका चन्द्रमान महर्जनले संस्कृति र सम्पदा संरक्षणमा नगरप्रमुख, वडा अध्यक्ष तथा जनप्रतिनिधि उदासिन भएको भन्दै असन्तुष्टी व्यक्त गरे । “हामीले मत दिएर जिताएका जनप्रतिनिधिलाई स्थानीय सम्पदा मासिँदा चासो हुनुपर्छ”, उनले भने ।

महानगरीय प्रहरी वृत चापागाउँका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले स्थानीयवासीले साङ्केतिक रुपमा केही समय सडक अवरोध गरेको बताए ।

“उनीहरुले बिहान साङ्केतिक रुपमा केही समय सडकमा आवागमनमा अवरोध पुर्याएका थिए । अहिले सडक सञ्चालन छ । मूर्ति चोरीका सम्बन्धमा अनुसन्धान जारी छ”, उनले भने ।

महानगरीय प्रहरी वृत्त चापागाउँदेखि करिब तीन सय मिटर दुरीमा रहेको चैत्यमा राखिएका चार मूर्तिमध्ये तीनवटा चोरी भएको थियो ।