सिर्जनशील शिक्षण विधि बारे शिक्षकहरूको कार्यशाला
काठमाडौं, २१ चैत । शिक्षकहरू आफू कतै भ्रमणमा जाँदा देखेका कुराहरू, आफ्नै जीवनमा आइपरेका घटनाहरू, आफूले हासिल गरेका ज्ञान र सीपहरू अनि आफूले पढेका नयाँ विषयवस्तुहरूलाई समेत ज्ञानवद्र्धक रुपमा आफ्ना विद्यार्थीहरूलाई कसरी सिकाउने ?
यिनै विषयहरूमा केन्द्रित भई कामपा वडा नं. १६, बालाजु टौडलस्थित शितला माध्यमिक विद्यालयमा हालै एक कार्यशाला गोष्ठी आयोजना गरियो ।
शैक्षिक सत्र २०७९ समाप्त भई नयाँ शैक्षिक सत्र २०८० शुरु हुन लागेको परिप्रेक्ष्यमा आयोजना गरिएको उक्त कार्यशाला गोष्ठीमा प्रशिक्षक विश्व देवकोटाले विद्यालयका शिक्षकहरू सामू यी नै विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
विद्यार्थीहरूलाई प्रभावकारी ढंगले सिकाउने विधिबारे चर्चा गर्दै उहाँले अहिलेको शिक्षा प्रविधिमैत्री र बालमैत्री पनि हुनुपर्ने बताउनुभयो । प्रभावकारी शिक्षणको लागि शिक्षक मात्र नभई कक्षा कोठाको व्यवस्थापनले पनि महत्वपूर्ण भूमिका खेल्ने र त्यसमा कक्षा कोठाको उपयुक्त सजावट, बसाइको सही व्यवस्थापन , शैक्षिक सामग्रीको अधिकतम प्रयोग, शिक्षकको व्यवहार कुशल सीप आदि जस्ता विभिन्न कुराहरूले प्रभाव पार्ने विषयमा पनि उहाँले उदाहरण सहित प्रकाश पार्नुभयो ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मण श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यशाला गोष्ठीले विद्यालयका शिक्षकहरूलाई सिर्जनशील शिक्षण, प्रभावकारी प्रस्तुतीकरण र विद्यार्थीप्रति जिम्मेवार बन्न आफूहरूलाई निक्कै सहयोग गरेको अनुभव शिक्षकहरूले सुनाउनुभयो ।
