भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा जलाउने दुवै नेपाली जनताका शत्रु हुन् : प्रेम सुवाल
भक्तपुर, २३ कात्तिक । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै प्रवृत्ति नेपाली जनताका शत्रु भएको बताएका छन्।
नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आइतबार भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्यालीपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पुराना दलले भ्रष्टाचार गरेर देश डुबाएको र नयाँ भनिएका दलले भदौ २३ र २४ गते देश जलाएको उनको आरोप थियो।
उनले देशमा भ्रष्टाचार नियन्त्रणको सुरुवात प्रधानमन्त्रीबाटै हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्रीले भ्रष्टाचार नगरे मन्त्रीहरूले पनि गर्न नसक्ने र मन्त्रीहरूले नगरे कर्मचारीहरूले पनि गर्न नसक्ने उनको भनाइ थियो।
करिब १७ वर्षअघि भक्तपुर मालपोत कार्यालयमा सरकारी जग्गासम्बन्धी अनियमितताको विषय उठाउँदा कर्मचारीले आफूहरूले खाएको घुस प्रधानमन्त्रीसम्म पुग्ने बताएको प्रसंग स्मरण गर्दै सुवालले भ्रष्टाचारको जालो माथिल्लो तहसम्म फैलिएको टिप्पणी गरे।
अर्को प्रसंगमा उनले नेपाल मजदुर किसान पार्टीलाई निर्वाचनमा हराउनु भनेको नेपाली जनतालाई हराउनु भएको दाबी गरे।
सुवालले भाषा, संस्कृति, इतिहास र मौलिक पहिचानको संरक्षण गर्नु सबैको कर्तव्य भएको बताए। नेपाल संवत् नयाँ वर्षलाई पात्रो परिवर्तनका रूपमा मात्र नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जार, ४६औँ नेपाल भाषा साहित्य सम्मेलन आयोजक समितिका गोल्मढी भक्तपुरका अध्यक्ष एवं भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांलगायतले पनि मन्तव्य राखेका थिए।
नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना र्याली आयोजक समितिको आयोजनामा भएको र्यालीमा सयौँ बाजागाजा समूहसहित हजारौँको सहभागिता थियो।
भक्तपुरको सूर्यविनायक र टौमढीबाट सुरु भएका र्याली नगरका विभिन्न टोल तथा बजार परिक्रमा गर्दै भक्तपुर दरबार क्षेत्रस्थित खौमामा पुगेका थिए। त्यहाँ स्थापित नेपालभाषाका सेवक, समाजसुधारक तथा मास्टर जगतसुन्दर मल्लको सालिकमा फूलमाला अर्पण गरी सम्मान गरिएको थियो।
त्यसपछि गीत, संगीत, नृत्य तथा सांस्कृतिक प्रस्तुतिसहित सभा आयोजना गरिएको थियो। र्यालीमा परम्परागत बाजागाजा, सांस्कृतिक समूह तथा विभिन्न जातजातिका मानिसहरूको उत्साहजनक सहभागिता रहेको थियो।
