भूगोल इनर्जी डेभलपमेन्टको आईपीओ आजदेखि खुल्यो
काठमाडौं, २३ चैत । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले बिहीबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको ३० प्रतिशत १६ लाख ३२ हजार १६० कित्ता सेयर निष्कासनमा ल्याएको हो ।
जस मध्ये १० प्रतिशत अर्थात ५ लाख ४४ हजार ५३ कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गरेकोमा ८५ हजार २० कित्ता सेयर मात्रै बिक्री भएको थियो ।
यस्तै कम्पनीको जारी पूँजीको २० प्रतिशत १० लाख ८८ हजार १०७ कित्ता सेयर मध्ये १ लाख ८ हजार ८११ कित्ता साधारण सेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली तथा कर्मचारीहरुका लागि एवम् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ ।
स्थानीयलाई बिक्री नभएको सेयर सहित सर्वसाधारणको १३ लाख ४६ हजार ९९३ कित्ता सेयर निष्कासनमा ल्याएको हो । कम्पनीले निष्कासन गरेको आईपीओमा २७ चैतसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे ७ वैशाख २०८० सम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।