रास्वपाका सभापतिको गल्तीका कारण उपनिर्वाचन हुँदैछ, पटक–पटक गल्तीको भारी जनतालाई बोकाउनु हुन्नः न्यौपाने

काठमाडौं, २३ चैत । नेकपा (एमाले) तर्फका चितवन–२ का उम्मेदवार रामप्रसाद न्यौपाने एक जनाले गरेको गल्तीको भारी अरुलाई बोकाउनु नहुने बताउनु भएको छ ।
चितवन–काठमाडौं सम्पर्क मञ्चले आज एमाले मुख्यालय च्यासलमा आयोजना गरेको ‘चितवन क्षेत्र नम्बर–२ उपनिर्वाचनको विशेष कार्यक्रम’मा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले दलीय सन्र्दभमा पनि विश्वास गर्न सकिने भन्दै नयाँ बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच महिनाको अवधीमा गरेको व्यवहार हेर्न र मूल्याङ्कन गर्न पनि आग्रह गर्नुभयो ।

‘अहिले चितवन–२ मा उपनिर्वाचन हुँदैछ, कस्का कारणले हुँदैछ, त्यो बेला सांसद कस्ले जितेको हो भनेर मैले भनिरहनु पर्दैन होला नि त ?,’ उहाँले भन्नुभयो, ‘त्यसकारण त्यो गल्ती मैले गरेको हो त ? मेरो कारणले उपनिर्वाचन भएको हो भने म सजाय भोग्न तयार छु । तर, उपनिर्वाचन त त्यहाँ विजयी सांसदका कारणले भएको हो नि ?’

मंसिर ४ को निर्वाचनमा विजयी सांसदले नागरिकता पनि चाहिन्छ भन्ने नजान्दा उपनिर्वाचन भएको भन्दै त्यसको अपजसको भारी अरुलाई बोकाउनु नहुनेमा जोड दिनुभयो । ‘अहिले पनि सर्वोच्चमा राहादानीको मुद्धा चलिरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसको अपजस मैले व्यहोरौँ त ? कि चितवन–२ का नागरिकले व्यहोर्नु पर्ने हो ? त्यो त हुँदैन होला नि ? मैले अपराध गरेँ भने त्यसको अपराध मैले भोग्ने हो । अरुले गरेको त अरुले भोग्ने होला नि ?’

हाँले नागरिकले पाएको दुःखको नैतिक जिम्मेवारी कस्ले लिने ? भन्दै राजनीति गर्ने भनेको सभ्य समाज निर्माणका लागि हो भन्नुभयो । ‘राजनीति गर्ने भनेको सभ्य समाज निर्माणका लागि हो होला नि त ?,’ उहाँले भन्नुभयो, ‘सभ्य कुरा सिकाउन होला नि त ? समाजलाई राम्रो कुरा सिकाउन होला नि त ? समृद्ध समाज निर्माण गर्न होला नि ?’

आफूले उठाएका कुनै पनि विषयको सम्वोधन रवि लामिछानेले गर्न नसकेको भन्दै त्यहाँको समस्याको नेतृत्व गर्न सक्ने भनेको चितवनकै नेताले भएको दाबी गर्नुभयो । ‘अहिले यो कुुरा यहाँका मतदाताले बुझेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसैले मंसिर–४ मा विजयी सांसदले प्राप्त मत ठूलो कुरा होइन । यो पटक हामी जित्छौँ ।’