एनपिएलका सबै खेलले आइसिसीको आधिकारिक मान्यता पाउने
काठमाडौँ, ५ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलले उक्त मान्यता पाउनेछन्।
आइसिसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएसँगै एनपिएलमा खेलाडीले गर्ने प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछ। यसले खेलाडीको व्यक्तिगत प्रदर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा अभिलेख राख्न सहयोग पुग्नेछ।
क्यानका सचिव पारस खड्काले एनपिएलले आधिकारिक मान्यता पाउनुले नेपाली क्रिकेटको विकास, व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने बताउनुभयो।
एनपिएलको तेस्रो संस्करण कात्तिकदेखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ। यस संस्करणमा पनि आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
