बनाउँदा बनाउँदैको रथ भाँचिएपछि….

ललितपुर, २७ चैत । ललितपुरको पुल्चोकमा बनाउँदै गरेको रातो मत्स्येन्द्रनाथको रथ ढलेर झण्डै ठूलो दुर्घटना हुन पुग्यो । आज बिहान बनाउँदा बनाउँदैको रथको दोस्रो तल्लामा राखिएको काठ भाँचेर दुई टुक्रा हुन पुगेको थियो ।

त्यतिबेला रथको माथि रथ बनाउने रथकर्मीहरू पनि काम गरिरहेका थिए । तर कसैलाई केही नभएका कारण कुनै ठूलो क्षति भने हुन पाएन ।

रथमाथि उठाइसकेका काठहरू ढलेपछि माथि बसिरहेका रथकर्मीहरूलाई डोरीको सहायताले तल झार्नु परेको थियो । रथकर्मीहरूले यसलाई सामान्य दुर्घटना मात्रै भनेका छन् । तै पनि माथि काम गरिरहेका रथकर्मीहरू तल झरेको भए गम्भीर घाइते हुने सम्भावना हुन्थ्यो । जात्राका क्रममा देवताको रथ ढल्नु, रथमा क्षति पुग्नु, मूर्तिमा क्षति हुनु जस्ता कार्यलाई अशुभ मान्ने गरिन्छ ।

रातो मत्स्येन्द्रनाथ रथ निर्माणका क्रममा आज रथमा सोह्र हात राख्ने कार्यतालिका रहेको छ । रथ निर्माणमा सोह्र हात राख्नु एउटा महत्वपूर्ण चरण हो । यसपछि वैशाख २ गते अर्को महत्वपूर्ण चरणको काम हुन्छ । त्यस दिन रथको पाङ्ग्रा गुडाउने गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘घःचाः हुलेगु’ भनिन्छ ।

रथ निर्माण सकिएपछि वैशाख ८ गते रातो मत्स्येन्द्रनाथलाई रथारोहण गरी रथभित्र बनाइएको आसनमा विराजमान गराइन्छ ।

मत्स्येन्द्रनाथलाई रथमा विराजमान गराइएको चार दिन पछि मात्रै रथ तान्ने जात्रा आरम्भ हुन्छ । यो वर्ष वैशाख ११ गते रथजात्रा आरम्भ गरिनेछ ।

रातो मत्स्येन्द्रनाथको रथ जात्रा सँगसँगै मिननाथको रथ पनि तान्ने गरिन्छ । मिननाथलाई स्थानीय नेपालभाषामा ‘चाक्बहाः द्यः’ भनिन्छ । मिननाथको रथ निर्माणको कार्य भने वैशाख ३ गतेदेखि मात्रै शुरु हुने बताइएको छ । मिननाथको रथ रातो मत्स्येन्द्रनाथको रथभन्दा होचो आकारको हुने गर्दछ ।