माेटरसाइकल चाेरी गर्ने गिराेह विराटनगरबाट पक्राउ
मोरङ, २९ चैत्र । मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेकाे छ ।
मोटरसाइकल चोरीसम्बन्धी उजुरी बढ्न थालेपछि मोरङ प्रहरीले विशेष अपरेशन नै चलाएर गिरोहलाई नियन्त्रणमा लिइ मंगलबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा देवानगञ्ज गाउँपालिका-३ का १८ वर्षीय राजकुमार यादव, भारत अरअरिया लक्ष्मीपुर-१० का २५ वर्षीय सुशीलकुमार यादव, भारत पेसदाह पंचायतका २५ वर्षीय शौरभकुमार यादव, भोक्राहा नर्सिङ गाउँपालिका -६ का २० वर्षीय सुमनकुमार यादव र विराटनगर महानगरपालिका-१२ मोरङका सञ्जय साह रहेका छन्।
मोरङका डिएसपी रन्जनकुमार दाहालका अनुसार उनीहरूलाई फरक मिति र फरक स्थानबाट पक्राउ गरिएको हाे ।
उनीहरूले मोरङका विभिन्न स्थानबाट चोरी गरेका मोटरसाइकलहरू पहाडका दुर्गम स्थान, सुनसरीका ग्रामिण क्षेत्र र भारतका विभिन्न स्थानहरूमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका पाँचैजनाविरूद्ध जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।