धादिङमा ४०० मिटर तल खस्यो जिप, एक महिलाको मृत्यु, नौ जना घाइते
काठमाडौं, ४ मङ्सिर । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार राति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको हो।
दुर्घटनामा रुबीभ्याली–४ की अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। जिपमा सवार अन्य नौ जना घाइते भएका छन्।
घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको डीएसपी थापाले जानकारी दिएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
