चितवन–२ का मतदाताको मन जित्दै न्यौपाने घरदैलोमा, अडियो काण्डपछि थप रक्षात्मक बन्दै लामिछाने

चितवन, २९ चैत। चितवन निर्वाचन क्षेत्र नं.२ मा चुनावी माहोल ह्वात्तै बढेको छ । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको तयारीसँगै त्यहाँ माहोल बढेको हो ।

अहिले चुनावी माहोलसँग नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका उम्मेदवार चुनावी अभियानमा मतदाताको घरदैलोमा पुग्ने र मतदातालाई आकर्षित गर्ने कार्यमा जुटेका छन् । मंसिर–४ मा भएको निर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन जित्नु भएको थियो ।

उहाँको नागरिकता विवादका कारण सांसद पद नै खारेजी भयो । सांसद पद खारेजी भएसँग उपनिर्वाचन हुँदै गर्दा उहाँको अहिले पनि राहादानी विवाद सर्वोच्चमा पुगेको छ । अहिले फेरि रास्वपाकै एक सांसद ढाकाराम श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि पार्टीलाई पैसा दिनुपर्ने भन्दै २ करोड बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । त्यो अडियो सार्वजनिक भएपछि लामिछाने थप रक्षात्मक अवस्थामा पुग्नु भएको छ ।

भ्रष्टहरुलाई कारवाही गर्न बैकल्पिक पार्टीको डम्फू बजाएर आएको रास्वपा भित्रै भ्रष्टाचारको गन्ध आएपछि लामिछाने स्वयंमाथि पनि नैतिक प्रश्न खडा भएको छ । तर, लामिछाने अहिले पनि भिड देखाएर ती काण्डलाई कमजोर बनाउने ध्याउन्नमा हुनुहुन्छ । यता एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने भने ज्येष्ठ नागरिकको आशिर्वाद लिँदै र मतदाताका गुनासो सुन्दै घरदैलो गरिरहनुभएको छ ।

उम्मेदवार न्यौपानेले निर्वाचन प्रसारप्रसारका क्रममा मतदाताको टोल तथा विभिन्न स्थानमा कोणसभा गर्दै वरिपरिका नागरिकका गुनासो समेत सुन्ने गर्नुभएको छ । अहिलेसम्मको अवस्था हेर्दा र मतदाताको मनोभावना बुझ्दा न्यौपानेका लागि यो निर्वाचन सहज बन्दै गएको देखिन्छ ।

घरदैलोका क्रममा उम्मेदवार न्यौपानेलाई अधिकांश ज्येष्ठ नागरिकले स्वास्थ्य सम्बन्धी गुनासा तथा जिज्ञासाहरू राख्ने गर्नुभएको छ । भरतपुर महानगरपालिका वडा नं.५ र ७ मा भएको घरदैलोका क्रममा स्थानीय ज्येष्ठ नागरिकहरूले उम्मेदवार न्यौपानेलाई भरतपुर अस्पतालको सेवालाई गुणस्तरीय बनाउँदै सहजरूपमा उपचार गर्न पाउने व्यवस्था गराउन अनुरोध गर्नुभयो । त्यसैगरी सरकारी अस्पतालमा पहिला उपचार र पछि पैसा लिने व्यवस्था गर्नुपर्नेमा उहाँहरूको सुुझाव थियो ।

ज्येष्ठ नागरिक, एकल महिला, विद्यार्थीहरूको हकहितमा एमालेले विगतमा राम्रो काम गरेकाले पनि चितवन– २ मा एमालेका उम्मेदवारले जित्नुपर्ने स्थानीयको भनाइ छ । जितेर गएपछि ज्येष्ठ नागरिकको जिम्मेवारी सरकारले लिनेगरी काम गर्नसमेत न्यौपानेलाई स्थानीयले आग्रह गर्ने गरेका छन् । त्यहिँको माटोमा जन्मिएर हुर्किनु भएका न्यौपानेप्रति मतदाताले पनि आथाह आशा गरेको देखिन्छ ।

मंगलबार भरतपुरको विभिन्न स्थानमा भएको कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार न्यौपानेले सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन आफू प्रतिबद्ध भएर लागिपर्ने बताउनुभयो । उहाँले आफू कुनै पनि आरोप र भ्रष्टाचारमा नमुछिने भन्दै अरुले भ्रष्टाचार गरेमा पनि भण्डाफोर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ्नो निर्वाचन क्षेत्रमा रहेका हरेक टोल सुधार समितिमार्फत विकासका योजनाहरू माग गरेर सोहीअनुसार व्यवस्थापन गर्न सहजीकरण गर्ने न्यौपानेको भनाइ छ ।

अहिले उपनिर्वाचन गर्नुपर्ने रहर नभएर बाध्यता भएको भन्दै उम्मेदवार न्यौपानेले राम्रो समाज निर्माणका लागि जनप्रतिनिधि पनि राम्रो हुनुपर्ने बताउनुभयो । जनताका समस्या बुझ्ने र सुन्ने खालका उम्मेदवार हुनुपर्ने उल्लेख गर्दै न्यौपानेले आफू जितेर गएपछि हरेक ठाउँमा जनताको गुनासो सुन्न पुग्ने बताउनुभयो । स्वदेशमै स्वरोजगार बन्ने, यहीँ पढ्नेलेख्ने तथा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने आफ्नो प्राथमिकता रहेको न्यौपानेको भनाइ छ ।

मंगलबार भएको घरदैलो एवं कोणसभामा उम्मेदवार न्यौपानेसहित एमालेका नेताहरु देवी ज्ञवाली, विजय सुवेदी, कृष्णभक्त पोखरेल, यमबहादुर परियार, पुरुषोत्तम न्यौपानेलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।