यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न
भक्तपुर, २९ चैत्र । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ ।
यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
देशका ७७ जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रसहित जापानमा एक गरी दुई हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको थियाे । केही घट्नाबाहेक सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको छ ।
उहाँका अनुसार यसवर्ष परीक्षामा चार लाख ८४ हजार दुई सय २७ परीक्षार्थी सहभागी थिए ।
यसवर्षको एसइई परीक्षामा सहभागी हुनका लागि विसं २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने पाँच लाख १६ हजार पाँच सय ९१ विद्यार्थीमध्ये कक्षा १० मा आउँदा ३२ हजार तीन सय ६४ विद्यार्थी घटेर चार लाख ८४ हजार दुई सय २७ पुगेका थिए ।
नेपालबाट रोजगारीकका लागि जापान पुगेका अभिभावकका १४ जना छोराछोरीले पनि यसवर्ष जापानबाटै परीक्षा दिएका छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एक शैक्षिक संस्थाबाट उनीहरुले परीक्षामा सहभागी भएका परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो ।
परीक्षामा सबैभन्दा धेरै बागमती प्रदेशबाट एक लाख ६ हजार नौ सय ५९ विद्यार्थी र सबैभन्दा कम कर्णली प्रदेशबाट ४१ हजार तीन सय २९ परीक्षार्थी सहभागी भएका थिए ।